काठमाडौँ– गत शनिबार प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा गम्भीर लापरबाही भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले शिक्षामन्त्रीको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


बुधबार  महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा मन्त्रालयमा पुगेर नेविसंघले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरी एसईईको नतिजामा भएको गम्भीर त्रुटीको यथाशीघ्र सत्यतथ्य छानबिन गरी परीक्षा बोर्डका दोषी पदाधिकारी र कार्यालयका कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्न नेविसंघले माग गरेको छ ।


ADVERTISEMENT

# # #


‘विद्यार्थीको भविष्य र उच्च शिक्षाको आधारको रुपमा रहेको एसईईको परीक्षाफल जस्तो संवेदनशील विषयमा लापरबाही गरेर विद्यार्थी, शिक्षक र अभिभावकलाई मनोवैज्ञानिक तनाव दिएको छ । साथै यसले नेपाल सरकार, शिक्षा मन्त्रालय र मातहतका निकाय कती गैरजिम्मेवार छन् भन्ने देखाएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो मातहतका निकायमा यस्तो गम्भीर लापरबाही हुँदा पनि गम्भीर नबन्नु शिक्षा मन्त्रालय र स्वयम् शिक्षामन्त्रीको कार्य क्षमतामाथि पनि शंका पैदा गरेको छ ।’

यस्तै नेविसंघले सरोकारवालाहरुसंग व्यापक छलफल नगरी कुनै अमुक दलको सदस्यता लिएका झुण्ड विज्ञको सुझावमा गणित विषयलाई ऐच्छिक विषय बनाइनु गलत भएको जनाएको छ । यस्ता गल्ती सरकारले दोहोर्याइरहने हो भने नेविसंघ जस्तोसुकै आन्दोलन गर्न तयार रहेको भन्दै सरकार, शिक्षा मन्त्रालयलाई चेतावनी दिएको छ ।