बुटवल– सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको माथिल्लो सिद्धबाबा नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि गएराति ११ बजेदेखि सडक अवरुद्ध भएको हो ।


ADVERTISEMENT


सडकमा पहिरो झरेपछि सवारी साधन आवतजावत गर्न सकेका छैनन् । सडक अवरुद्ध हुँदा पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका सयौं सवारीसाधन र हजारौं यात्रुहरु सडकमै रोकिएका छन् ।


ADVERTISEMENT

# # #


बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रुको तल्लो सिद्धबाबादेखि गोलपार्कसम्म लाइन लागेको छ ।

वर्षा भइरहेकाले रातको समयमा डोजर ल्याएर पहिरो पन्छाउन नसकिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सोमबार बिहानैदेखि डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ । वर्षा भइरहेकाले पहिरो पन्छाउन गाह्रो भइरहेको सडक बिभागका कर्मचारीहरु बताउँछन् ।

हेडबक्स भन्ने स्थानमा पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।