वीरगञ्ज– रातिदेखि भइरहेको अविरल वर्षाका कारण आर्थिक राजधानी वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।


ADVERTISEMENT


वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती ब्यहोरेका छन् ।


ADVERTISEMENT

# # #


वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ । घर तथा पसलबाट निस्कने फोहोरहरु जथाभावी सडक र नालामा नै फाल्ने गरिएको कारण नाला जाम भएर वर्षेनी पानी पर्नेवित्तिकै वीरगञ्जका अधिकांश सडकहरु तालमा परिणत हुने गरेका छन् ।

नगर क्षेत्रमा एकीकृत मझौला सहरी वातारण सुधार परियोजना अन्तर्गत नाला निर्माणको काम सम्पन्न भइसकेका ठाउँमा समेत पानीको निकास नभएको गुनासो नगरबासीले गरेका छन् । वर्षेनी नगर क्षेत्र डुबानमा पर्ने गरेको भएपनि समस्या समाधानका लागि महानगरपालिकाले ठोस योजना ल्याउन नसकेको नगरबासीको गुनासो छ ।

सडकमा पानी जमेका कारण विशेषगरी पैदल स्कुल जाने स–साना बालबालिकाहरु समस्यामा परेका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषालले भने समथर भू–भाग भएका कारण पानी जम्ने समस्या देखिएको बताए । ‘समथर जमिन छ, पानी पर्दै गएपछि नदीको बहाव बढ्छ, स्वाभाविक रुपमा केही समय पानी त जम्छ नै,’ उनले भने, ‘बिहानैदेखि सरसफाई कर्मचारीहरुलाई फोहोरले जाम भएको नाला खोल्न लगाइएको छ । आवश्यक उपककरणहरु समेत तयारी अवस्थामा राख्न भनिएको छ ।’

सरसफाई शाखाका सरफुद्धिन मियाँले कतिपय स्थानमा फोहोरले नाला जाम भएका कारण पानीको निकास नभएको तर फोहोर हटाइदिएपछि पानीको निकास भएको जानकारी दिए । ‘आदर्शनगर क्षेत्रमा पनि परियोजनाले पानीको निकासका लागि राखेको प्वालहरुमा फोहोर जमेको थियो, हामीले गएर फोहोर हटाइदिएपछि पानीको निकास सुरु भएको छ । वीरगञ्जको मुख्य सडकका विभिन्न स्थानमा पनि त्यस्तै समस्या देखियो,’ उनले भने ।

पानी निरन्तर परिरहेकाले केही समय पानी जम्नु स्वाभाविक भएको उनको भनाइ छ ।