काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले भोलि (बिहीबार) बस्ने स्थायी समिति बैठकका एजेन्डा तय गरेको छ ।


ADVERTISEMENT


बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक भोलि अपरान्ह ३ बजेका लागि तय गरिएको जानकारी दिँदै आजको सचिवालय बैठकले त्यसका लागि कार्यसूची निर्धारण गरेको र प्रस्ताव तयार गरेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले रिपोर्टिङ गर्नेछन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हालै सम्पन्न आफ्नो चीन भ्रमण तथा सरकारको कामकारबाहीबारे रिपोर्टिङ गर्नेछन् भने अर्का अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक एकीकरण प्रक्रिया आदिबारे रिपोर्टिङ गर्नेछन् ।

त्यस्तै, स्थायी समिति बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे छलफल गरेर स्थायी समितिको सुझाव लिने काम पनि हुनेछ । पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले नियमावलीको मस्यौदा सचिवालयलाई बुझाइसकेको छ । स्थायी समितिको सुझावपछि त्यसलाई अन्तिम रुप दिइने प्रवक्ता श्रेष्ठले बताए । त्यसपछि भ्रातृ संस्था तथा जनवर्गीय संगठनहरुको सांगठिनक एकीकरणको प्रक्रियालाई तीव्रता दिइने उनको भनाइ छ ।