तेह्रथुम– हिलाम्मे सडकका कारण ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव भएको छ ।


ADVERTISEMENT


वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले दाबी गरेका छन् । ढुवानी समस्याकै कारण जिल्लामा डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको तेह्रथुम फ्युल सेन्टरले मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।


ADVERTISEMENT

# # #


जिल्लाका लागि डिजेल लिएर आउँदै गरेको ट्यांकर असार पहिलो साता लालीगुराँस नगरपालिकाको लसुने नजिकै दुर्घटना भएपछि पुनः जिल्लाका लागि पेट्रोलियम पदार्थ भित्र्याउन नसकेको व्यवसायी चन्द्रशेखर सुवेदीले बताएका छन् । हिलाम्मे सडकका कारण ठूला ट्यांकरले तेल ल्याउन नमान्ने र साना गाडीबाट ढुवानी गर्दा नोक्सान हुने भएकाले पर्याप्तरुपमा डिजेल र पेट्रोल उपलब्ध गराउन नसकेको उनको भनाइ रहेको छ ।

साना गाडीबाटै ढुवानी गरेर पेट्रोल उपलब्ध गराइरहे पनि ठूलो माग आउने गरेको डिजेलको भने अझै पनि अभाव रहेको छ । गाडीले तेल अभावका कारण जर्किनमा डिजेल बोकेर आवतजावत गरिरहेका छन् । ठूला कम्पनी र थोक ग्राहकलाई ट्यांकर दुर्घटना भएयता डिजेल उपलब्ध गराउन नसकेको व्यवसायी सुवेदीले बताएका छन् ।

पेट्रोल पम्पमा नै पेट्रोलियम पदार्थको अभाव भएपछि जिल्लामा पेट्रोलियम पदार्थको कालोबजारीसमेत भइरहेको छ । व्यवसायीले मनपरि शुल्क लिएर किनबेच गरिरहेका उपभोक्ताको गुनासो छ । पेट्रोलियम पदार्थको अभावको मौका छोपेर ग्रामीण सडकमा गुड्ने गाडीले महँगो भाडासमेत उठाउने गरेका छन् ।