काठमाडौं– केही महिनाअघि भएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा रहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अहिले क्यानडाको क्रिकेट लिग ‘ग्लोबल टी–ट्वीन्टी क्यानडा’ मा खेलिहेका छन् । १७ वर्षीय सन्दीपले क्यानडामा पनि आफ्नो लेग स्पीनको जादु देखाउँदै सानदार प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


छ टिमले प्रतिस्पर्धा गरिरहेको उक्त प्रतियोगितामा विश्वका थुप्रै स्टार क्रिकेटर सहभागी छन् । सन्दीप लामिछाने श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाको कप्तानीमा रहेको मोन्ट्रेल टाइगर्सबाट खेल्दै छन् । उनको टिममा वेस्ट इन्डिजका सुनिल नारिन, ड्वेन स्मीथ, जिम्बाबेका सिकन्दर राजाजस्ता स्टार क्रिकेटर छन् ।


ADVERTISEMENT

# # #


उक्त लिगमा उनको टिमले चार खेल खलिसकेको छ । २९ जुनमा वेस्ट इन्डिजका ड्वेन ब्राबोको कप्तानीमा रहेको विपिङ हक्सविरुद्ध खेल्दा सन्दीप टोलीमा समावेश थिएनन् ।

३० जुनमा ‘वेस्टइन्डिज बी’ टिमविरुद्ध उनको टोली खेल्दा सन्दीपले खेल्ने मौका पाए । त्यस खेलमा उनले एक विकेट लिए । तर, ४ ओभर बलिङ गर्दा ५७ रन दिएर खराब प्रदर्शन गरे । एक बल व्याटिङ गर्न पाएका सन्दीपले एक रन बनाउँदै नटआउट रहे ।

त्यस पछिका दुई खेलमा भने सन्दीपले उकृष्ट प्रदर्शन गरेका छन् । २ जुलाईमा सन्दीप समावेश टोली मोन्ट्रेल टाइगर्सले क्रिस गेलको कप्तानीमा रहेको भ्यानकुभर नाइट्सविरुद्ध खेल्यो । त्यो खेलमा सन्दीपले सान्दार बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दा एक मेडनसहित १९ रन दिएर १ विकेट लिए ।

त्यस खेलमा सन्दीप सबैभन्दा किफायती बलरसमेत बन्ने । उक्त खेलमा कप्तान मालिंगाले ४ ओभर बलिङ गर्दा ३ विकेट लिँदै ४१ रन खर्चे । व्याटिङमा समेत मौका पाएका सन्दीपले ३ बलमा ७ रन बनाउँदै नटआउट रहे उनले एक छक्का प्रहार गरेका थिए ।

बुधबार (४ जुलाई) सन्दीपको टिमले पाकिस्तानी क्रिकेटर साहइब तानबीरको कप्तानीमा रहेको एडमोन्टोन रोयल्सविरुद्ध खेलेको थियो । यस खेलमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभरमा १ विकेट लिएर १६ रन मात्रै खर्चेका सन्दीपले एक ओभर मेडन गर्न सफल भए । यस खेलमा १३ रन खर्चेर ३.१ ओभर बलिङ गरी ४ विकेट लिएका अस्ट्रेलियाका पिटर सिड्लेपछि सन्दीप नै किफायती बलर बनेको छन् ।

तीन खेलमा लगातार हार व्यहोरेको सन्दीपको टोलीले पछिल्लो खेलमा भने १६ रनको जित निकाल्न सफल भएको छ । मोन्ट्रेल टाइगर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन मात्रै बनाएको थियो । मोन्ट्रेल टाइगर्सका बलर चम्किएपछि एडमोन्टोन रोयल्सले १९.१ ओभर खेल्दा ११३ रन बनाई सबै विकेट गुमायो ।

मोन्ट्रेल टाइगर्सबाट सन्दीप बाहेक अन्य बलरले मेडन ओभर फ्याक्न सकेका छैनन् । सन्दीपले दुई खेलमा लगातार एक–एक ओभर मेडन गर्न सफल भए । सन्दीपको टोली मोन्ट्रेल टाइगर्सको अर्को खेल जुलाई ८ आइतबार छ ।

आगामी अगस्टमा हुने वेस्टइन्डिज क्रिकेट बोर्डले आयोजना गर्ने क्याराविन प्रिमियर लिग (सीपीएलमा) मा पनि सन्दीप खेल्ने पक्‍का भइसकेको छ । सन्दीप क्रिस गेलको कप्तानीमा रहेको ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ मा अनुबन्ध भइसकेका छन् ।