बुटवल– मट्टतिेल छर्केर जलाइएकी रुपन्देहीको कञ्चन गाउपालिका–५ की १६ वर्षीया किशोरीको उपचारका क्रममा ज्यान गएको छ । आफ्नै घरमा सुतेको अवस्थामा जलेर गम्भीर घाइते भएकी समीक्षा ठकुरीको उपचारका क्रममा असार २० गते ज्यान गएको हो । मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।


ADVERTISEMENT


मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन् । समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएका उनी केही महिना अघि मात्र बाबुको घरमा आएकी थिइन् ।


ADVERTISEMENT

# # #


समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा–छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् । ‘घरमा बस्न थालेपछि कहिले कुटे, कहिले खान दिएनन् । कहिले स्कूलको फिस तिर्दिएनन् भनेर सधैं रोएर फोन गर्थी’ समीक्षाकी आमा मायाले भनिन्, ‘घटना हुने दिन पनि बजारबाट साँझ फर्किंदा घर भित्र नपस् भनेर गालीगलौज गरेका रहेछन् ।’

मायाका अनुसार ९ कक्षा पास गरेपछि ‘मम्मी अब म बाबाको घरमा बसेर पढ्छु, तपाईले मात्र खर्च धान्न सक्नुहुन्न’ भनेर समीक्षा बुबासँग बस्न थालेकी थिइन् । तर, परिवारका सदस्यले कुटपिट गर्ने, खाना खान नदिने, दुर्व्यवहार गर्ने र सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको स्थानीय अगुवा बोम दर्लामीले बताए ।

आगोले जलेर घाइते भएपछि समीक्षाले आफूलाई हजुरआमाले यस्तो अवस्थामा पुर्‍याएको बताएको सानीआमा रचना बुढाथोकीले दाबी गरिन् । ‘समीक्षा हरेक विषयमा चासो राख्ने स्वभावकी थिइन्, उनले आमामाथि भएको हिंसा र अत्याचार बुझेकी थिइन्, जान्नेबुझ्ने भएपछि आमामाथि भएको हिंसा र अन्यायको बदला लिन घरमै बसेर लड्छु र अंश लिन्छु भन्न थालेपछि मार्ने योजना अनुसार मट्टतिेल छर्केर आगो लगाइएको हो’ दर्लामीले भने ।

रूपन्देही प्रमुख प्रमुख श्याम ज्ञवालीले भने घटनाको प्रकृतिले हत्या जस्तो देखिएको तर, परिवार वा कसले भन्ने नसकिने बताए । उनले भने, ‘केही उपचारपछि धेरै कुरा आउन सक्छ भन्ने थियो तर, उनको मृच्यु भयो । तर, हामीले गम्भीर रूपमा लिरूर अनुसन्धान गरिरहेका छौं ।’

मटितेल छर्केर जलाउनु केही हप्ता अघि पनि समीक्षामाथि परिवारका सदस्यहरुले कुटपिट गरेका थिए । घटना प्रहरी चौकी, गाउँपालिकाको न्यायिक समितिसम्म पुगेपछि आइन्दा कुटपिट नगर्ने सहमति भएको थियो । तर, त्यसको केही दिनपछि नै फेरि समीक्षामाथि दुव्यवहार शुरु भएको थियो ।