काठमाडौँ– बुधबार रातिदेखि परेको पानीका कारण उपत्यकासहित देशभरका अधिकांश भागमा जनजीवन प्रभावित भएको छ। भक्तपुर र बनेपामा डुबान भएको भएको छ भने बाढी र पहिरोले राजमार्गहरू अवरूद्ध भएका छन्।


ADVERTISEMENT


मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुली खण्ड पहिराका कारण अवरुद्ध भएको छ।


ADVERTISEMENT

# # #


सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो। गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए।

राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ। सडकमा थुप्रिएको माटो पन्छाउन आवश्यक पहल भइरहेको छ।

राजमार्गमा रहेका सवारी साधनलाई सुरक्षाका साथ राख्दै माटो पन्छाउनका लागि प्रहरी टोली त्यसतर्फ गएको छ। वर्षात् रोकिएपछि सडकको माटो पन्छाइने उनको भनाइ छ। यसअघि गत जेठ २९ गते पनि मध्यपहाडी राजमार्ग सिन्धुलीखण्डअन्तर्गत सुनामबेंसीमै माथिबाट माटाको लेदो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।

राजमार्गभन्दा माथिबाट नयाँ ग्रामीण सडकको नयाँ मार्ग खनिएकाले माथिबाट खस्ने लेदो माटाका कारण राजमार्ग अवरुद्ध हुने गरेको प्रहरी उपरीक्षक यादवको भनाइ छ। गए रातिदेखि वर्षात् भए पनि जिल्लामा अन्य कुनै क्षतिको विवरण आएको छैन। सिन्धुलीका सम्भावित बाढी पहिराका उच्च जोखिम रहेका स्थानमा प्रहरीले सजगता अपनाउन आग्रह गरेको छ। जिल्लाका सबै प्रहरी एकाइलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि उनले दिए।

अविरल वर्षाले अरनिको र बीपी राजमार्ग पनि अवरूद्ध भएका छन्।

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन्।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ। यसबाट अरनिको राजमार्ग करिब तीन घण्टादेखि ठप्प छ । बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताए। मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार वर्षाका कारण बिपी राजमार्गका तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ। सडकका ठाउँ–ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा सडक अवरुद्ध रहेको उनले बताए।

खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सीस्थित रोशी खोलाको बीचमा परेका स्थानीय बासिन्दा दुई जनाको उद्धारका लागि प्रहरीको टोली गएको छ।

अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड पनि अवरुद्ध भएको छ।

सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए। गए राति झण्डै १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन्।

बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ। बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन। वर्षा शुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा–बागलुङ सडकखण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ। दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।