“बम र ग्रिनेड पड्केरभन्दा मैले हानेका बलले होटलका धेरै सिसा फुटे”

काठमाडौं–क्रोएसिया विश्वकपमा इतिहास रच्ने संघारमा उभिएको छ । बुधबार राति इंग्ल्याण्डविरूद्धको सनसनीपूर्ण खेलमा २–१ को नतिजा निकालेपछि २७ वर्षअघि स्वतन्त्र देश बनेको क्रोएसिया पहिलो पटक विश्वकपको फाइनल पुगेको हो ।


ADVERTISEMENT


समूह चरणको दोस्रो खेलमै लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनालाई ३–०ले हराएपछि क्रोएसियाले धेरैको ध्यान तान्यो । प्रिक्वार्टर र क्वार्टर फाइनलमा उसले पेनाल्टीबाट डेनमार्क र रसियालाई पाखा लगायो ।


ADVERTISEMENT

# # #


विश्वकपअघि स्लोभेनिया, हंगेरी, सर्विया, बोस्निया एण्ड हर्जगोभिनिया र एड्रियाटिक सीले घेरिएको झन्डै ४२ लाख मानिस बस्ने यो देशबारे धेरैलाई थाहा थिएन । तर रियल मेड्रिडबाट व्यावसायिक फुटबल खेल्ने लुका मोड्रिचलाई भने फुटबल पछ्याउने धेरैले चिन्थे । उनै मोड्रिचको कप्तानीमा क्रोएसिया विश्वकप फाइनल पुगेको हो ।

आफूभन्दा पछि जन्मिएको देशलाई फाइनलसम्म पुर्‍याउन मोड्रिचले ठूलो योगदान दिएका छन् । मिडफिल्डर मोड्रिचले दुई गोल हानेका छन् । अर्का मिडफिल्डर इभान राकिटिचसँग उनको गजब तालमेल छ ।

यहाँसम्म आइपुग्न जिन्दगीमा उनी आफैंले खाएको हण्डरठक्करको फेहरिस्त पनि लामै छ । ९ सेप्टेम्बर १९८५मा जन्मिएका हुन्, मोड्रिच । उनका बुवाआमा कारखानामा काम गर्न घरदेखि टाढा जान्थे । मोड्रिच आफ्ना हजुरबुवासँग बस्थे । उनकै काखमा सुत्थे । उनकै काँधमा चढ्थे । हजुरबुवा पनि उनलाई निकै माया गर्थे ।

समयको चक्र सधैँ उसैगरि कहाँ चल्छ र ? मोड्रिच ६ वर्षका हुँदा उनको गाउँ मोड्रिचीमा केही सर्वियन मिलिसिया आए । त्यतिबेला बाल्कन युद्द चलिरहेको थियो । ती मिलिसियाले केही निर्दोष गाउँलेलाई मारिदिए । मारिनेमा मोड्रिचका प्यारा हजुरबवा पनि थिए । जो वस्तुभाउ चराउन गएका थिए । मिलिसियाले बाँचेकालाई गाउँ छोडेर जान उर्दी दिए ।

मोड्रिच पनि आफू जन्मिएको पहाडको काखमा रहेको मोड्रिची गाउँ छोडेर जान बाध्य भए । बुवाआमाले उनलाई तटीय सहर जदारमा ल्याए । त्यहाँ उनीहरू आन्तरिक शरणार्थी बनेर बसे ।

जदारमा मोड्रिचको घर थिएन उनीहरू होटलमा बसे । युद्द जारी थियो । बिजुली र पानीको राम्रो सुविधा नभएको उनीहरूको कोठाबाट बम र ग्रिनेड पड्केको आवाज आइरहन्थ्यो ।

मोड्रिच भने होटलभित्रै फुटबल खेल्थे ।

‘बम र ग्रिनेड पड्केरभन्दा उनले हानेका बलले होटलका धेरै सिसा फुटे,’ कोलोभेयर होटलका प्रवक्ताले भने,‘उनी जतिबेलामा पनि होटलको हलमा फुटबल खेलिरहेका हुन्थे ।’

त्यो ज्यादै कठिन समयमा पनि मोड्रिचले हार मानेनन् । ‘धेरै वर्षसम्म हामी पैसाको अभाव झेल्दै होटलमा बस्यौं । तर मैले कहिल्यै फुटबल छोडिनँ । म अहिले पनि सम्झन्छु पहिलो पटक खुट्टामा सिन प्याड लगाएको । तिनमा ब्राजिलका रोनाल्डो थिए । मलाई ती खुब मन पर्थे,’मोड्रिचले भनेका छन् ।

उनले हजुरबुवा गुमाउनु पर्दाको पीडाले आफूलाई बलियो बनाएको बताएका छन् ।

‘६ वर्षको हुँदा युद्धले हामीलाई शरणार्थी बनायो । त्यसैले मलाई बलियो पनि बनायो । त्यो म र मेरो परिवारका लागि निकै कठिन बेला थियो । तर म सधैँ त्यही कुरा सम्झिरहन चाहन्न नत सधैँका लागि बिर्सन नै चाहन्छु,’ मोड्रिचले भनेका छन् ।

१० वर्षको हुँदा उनलाई धेरै प्रशिक्षक कमजोर र लजालु भएकाले फुटबल खेल्न नसक्ने बताउँथे ।

जदारमा उनलाई प्रशिक्षण दिने टोमिस्लाभ बेसिचले भने उनलाई राजधानीको क्लब डिनामो जाग्रेबमा ट्रायल दिन लगाए । २००३ मा उनी सो क्लबमा आवद्ध भए । त्यहीँबाट उनको प्रतिभाले प्रष्फुटन हुने मौका पायो । त्यसपछि भने मोड्रिचले पछाडि फर्कनु परेन ।

सन् २००८ मा उनी लण्डनको टोटेनहम हटस्पर गए । चार वर्ष त्यहाँ बिताएपछि सन् २०१२ मा उनी स्पेनिस क्लब रियल मेड्रिड पुगे । उनी अहिले पनि रियलका भरपर्दा मिडफिल्डर हुन् । जाग्रेबमै हुँदा उनको फुटबल एजेन्ट भान्जा बोस्निचसँग भेट भयो । चिनजान प्रेममा बदलियो । ४ वर्षपछि उनीहरूले विवाह गरे । अहिले उनीहरूका तीन सन्तान छन् ।

विश्वकप उपाधिका लागि आइतबार साँझ मस्कोमा क्रोएसिया र फ्रान्स भिड्दै छन् । फ्रान्सले उपाधि जिते उसले २० वर्षअघिको इतिहास दोहोर्‍याउने छ । क्रोएसियाले उपाधि चुमे नयाँ इतिहास कोर्नेछ ।

आइतबारको खेल क्रोएसियालाई २० वर्षअघिको इतिहास सच्चयाउने मौका पनि हुनेछ । डेभर सुकरको गोलमा सन्१९९८को सेमिफाइनलमा अग्रता लिइसकेपछि क्रोएसिया डिफेन्डर लिलिएन थुरामका दुई गोलका कारण आयोजक फ्रान्ससँग पराजित भएको थियो । डिडियर देस्सामको कप्तानीमा फ्रान्सले फाइनलमा ब्राजिललाई हराएर विश्वकप उचालेको थियो ।

तिनै देस्सामले प्रशिक्षण गराएको फ्रान्सलाई फाइनलमा हराएर क्रोएसियाका पहिला सुपरस्टार सुकरले नसकेको सफलता हासिल गर्ने मौका दोस्रा सुपरस्टार मोड्रिचलाई छ ।