काठमाडौँ– सरकारले ११ वर्षअघि गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माण सुरु गरेको राष्ट्रिय सहिद स्मारकको काम नसकिएकामा सरोकारवालाले गुनासो गरेका छन् ।


ADVERTISEMENT


स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिले आज गोकर्णमा आयोजना गरेको ११ औँ स्थापना दिवस एवम् स्थानीय तहमा निर्वाचित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको सम्मान कार्यक्रममा सरोकारवालाले छिटो स्मारक निर्माण हुनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले तीव्ररुपमा भइरहेको जलवायु परिवर्तनबाट उत्तरको हिमाल र दक्षिणको तराईलाई जोगाउने काम पहाडी क्षेत्रको हुनुपर्ने बताए ।

“सहिद स्मारक निर्माणस्थलमा वृक्षरोपण गरेर उदाहरणीय काम भएको छ, रुख बिरुवा हुर्काउनाले वातावरणीय सन्तुलनमा मद्दत पुर्याउँछ, सामुदायिक वनमै स्मारक निर्माण भइरहेकाले वातावरणलाई सन्तुलनमा राख्नु सबैको कर्तव्य हो”–उनले भने ।

सांसद रामेश्वर फुयालले विकास निर्माणका काम गर्नेले स्मारकबाट पाठ सिक्नुपर्ने बताए।
गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित प्रमुख सन्तोष चालिसेले विकास निर्माणका काममा दलीय स्वार्थ नहेरिने बताए ।
कार्यक्रममा हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले स्थानीय तहमा हुने गरेका अनियमितता र भ्रष्टाचार रोक्न नवनिर्वाचित नेतृत्वको ध्यान जानुपर्ने माग गरे ।
सो अवसरमा स्मारकका अध्यक्ष सुदर्शन सिग्देल, महासचिव त्रिलोचन पौडेल, सदस्यसचिव गोविन्दबहादुर श्रेष्ठलगायतले विसं २०७५ वैशाखदेखि सञ्चालनमा आउने गरी स्मारक निर्माण कार्य भइरहेको जानकारी गराए ।

सो अवसरमा उपस्थित मन्त्री जोशी, सांसद फुयाल, नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्यले स्मारक निर्माणस्थलमा विभिन्न जातका वृक्षरोपण गरे।

मन्त्रिपरिषद्ले विसं २०६४ जेठ ११ गते सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा हालसम्मका सबै परिवर्तनमा सहादत हुने सहिदको स्मृतिमा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।

निर्णयबमोजिम हाल शान्ति तथा पुनःनिर्माण मन्त्रालयको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजनाअन्तर्गत प्राथमिकता प्राप्त आयोजनाका रुपमा काम भइरहेको छ ।