काठमाडौं – ट्राफिक महाशाखाले जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १३ स्थानमा आजदेखि नै अभियान सुरु गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी वसन्त पन्तले एक महिना सचेतना अभियान सुरु गर्न लागेको जानकारी दिए । आजदेखि सुरु भएको अभियान एक महिनासम्म रहने र त्यसपछि पनि जथाभावी बाटो काटे कारबाही गर्ने जानकारी उनले दिए ।


ADVERTISEMENT

# # #


“आज १३ स्थानबाट यो अभियान सुरु हुँदैछ,” उनले भने, “आकाशे पुल प्रयोग नगर्ने, जथाभावी बाटो काट्ने र लेन मिच्नेलाई पहिलो सचेतना अभियान सुरु गर्दैछौं । जथाभावी बाटो काटे केहीबेर नियन्त्रणमा राखेर क्लास पनि लिन्छौं ।” महाशाखाले आजदेखि उक्त अभियान सुरु गर्न लागेको जनाएको छ ।

“यात्रुलाई जथाभावी बाटो काट्दा कस्ता कस्ता दुर्घटना हुन्छन् भनेर जानकारी गराउने हो,” ललितपुर ट्राफिक प्रमुख सीताराम हाछेथु भन्छन्, “हामीले सर्वसाधारणलाई जेब्राक्रसबाट मात्रै बाटो काट्न अनुरोध गर्छौं । जथाभावी काटे आधा घन्टा सँगै राखेर क्लास लिन्छौं ।”

प्रहरीले यसअघि पनि अघिल्लो वर्ष यस्तै अभियान चलाएको थियो । अघिल्लो वर्ष प्रहरीले जथाभावी बाटो काट्नेलाई २ सय जरिबाना तिराएको थियो ।

उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो