विस्थापित १६ घर–परिवारलाई सुरक्षित स्थानमा सारियो


ADVERTISEMENT


पर्वत– अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारको मृत्यु भएको हो । पर्वतका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गुरुदत्त ढकालले १ तल्ले कच्ची घरमा पुरिएर उनको मृत्यु भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रजिअ ढकालका अनुसार, हराएका ५ जना भने सम्पर्कमा आएका छन् ।

पहिरोले उक्त गाउँका १६ घर जोखिममा परेका छन् । प्रजिअ ढकालले ती घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेर व्यवस्थापन गर्ने काम भइरहेको बताए ।

उता, जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलार्इ उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको छ ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी मिलनचोकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।