एजेन्सी– भारतको राजधानी नयाँदिल्लीको एक विद्यालयले आफ्नै विद्यार्थीलाई थुनेपछि विवादमा तानिएको छ । फी तिर्न ढिलाइ गरेको भन्दै विद्यालयले १६ विद्यार्थीलाई यसै साता पाँच घन्टासम्म बेसमेन्टमा थुनेपछि सो विद्यालय विवादमा तानिएको हो । अभिभावकले समयमा नै फी नतिरेको झोँकमा विद्यालयले आफ्नै विद्यार्थीलाई यातना दिएको थियो । थुनिएका सबैजना चारदेखि ६ वर्षका किन्डरगार्डेनका छात्रा थिए ।


ADVERTISEMENT


चौतर्फी आलोचनापछि ती विद्यार्थीलाई ‘गतिविधि केन्द्रमा’ राखिएको विद्यालयका अधिकारीले जनाएका छन् । तर, सो केन्द्रमा राख्नुपर्नेबारेमा विद्यालयले कुनै प्रतिक्रिया जनाएको छैन । आफ्ना नानीहरूलाई विद्यालयमा लिन जाँदा उनीहरू थुनिएको अवस्थामा देखेको अभिभावकले बताएका छन् ।


ADVERTISEMENT

# # #


अभिभावक सुरुमा कक्षाकोठामा पुगेका थिए । तर, विद्यालयका परिचारिकाले उनीहरूलाई थुनिएको स्थानमा लगेपछि बल्ल वास्तविकता थाहा पाएका थिए ।

अभिभावकले प्रहरीमा दर्ता गरेको निवेदनअनुसार कलिला नानीहरूलाई विद्यालयको बेसमेन्टमा बिहान साढे ७ बजेदेखि मध्याह्न साढे १२ बजेसम्म राखिएको थियो । बेसमेन्टको तापक्रम असामान्य रूपमा बढी तातो भएको र बालिकाहरू भोक र तिर्खाले ग्रस्त भएको अभिभावकले गुनासो गरेका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । ‘हाम्रो अनुसन्धान समाप्त भएपछि बालबालिकालाई जबर्जस्ती थुन्ने दोषीको नाम सार्वजनिक गर्नेछौँ,’ एक प्रहरी अधिकारीले भने । आफूहरूले विद्यालयको फी समयमा तिरिरहेको केही अभिभावकले बताएका छन् । ‘नानीहरू थुनिएको प्रमाण देखाएपछि पनि विद्यालयका प्रधानाध्यापकले पश्चाताप गरेनन्,’ एक अभिभावकले भने । दिल्लीको बालअधिकारसम्बन्धी आयोगले अनुसन्धान सुरु गरेको छ ।