काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका लागि आवश्यक नयाँ गाडी किन्नेभन्दा पनि पुरानैलाई प्रयोगमा ल्याउने भएको छ ।


ADVERTISEMENT


सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको आवत–जावतका लागि विभिन्न सरकारी निकाय मातहतका सुविधा सम्पन्न गाडी प्रयोग गर्ने तयारी गरिएको हो । विमस्टेक राष्ट्रका विशिष्ट पाहुनालाई पूर्वराजा र राजपरिवारका सदस्यले विगतमा प्रयोग गरेका, परराष्ट्र र अन्य मन्त्रालय मातहतका ‘बुलेट फ्रुफ’ गाडी उपलब्ध गराउने तयारी अघि बढाइएको छ ।


ADVERTISEMENT

# # #


शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकारप्रमुख सहभागी हुने प्रचलन छ, चौथो सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदै छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो ।

‘सबै राष्ट्रप्रमुख र सरकारप्रमुखलाई बुलेट फ्रुफ गाडी उपलब्ध गराइनेछ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘कुन निकायमा के कति बुलेट फ्रुफ गाडी छन् भनेर खोजविन भइरहेको छ ।’ – आजको नेपाल समाचारपत्रबाट