एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्ववकिल माइकल कनले आफ्ना सेवाग्राही (ट्रम्प) ले प्लेबोइ म्यागजिनकी पूर्वमोडलसँग रकमबारे छलफल गरिरहेको कुरा गोप्य रुपमा रेकर्ड गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।


ADVERTISEMENT


त्यस्ता रेकर्डहरू यो वर्षको शुरूमा संघीय अनुसन्धान निकाय एफबीआइले कनको कार्यालयमा छापा मार्दा फेला परेको बताइएको छ । न्यूयोर्क टाइम्सले उक्त रेकर्डिङमा ट्रम्प र कनले क्यारेन मक्डुगललाई रकम तिर्ने विषयमा छलफल गरिरहेका छन्, जोसँग ट्रम्पको सम्बन्ध थियो ।


ADVERTISEMENT

# # #


सन् २०१६ को राष्ट्रपतीय चुनावअघि उक्त टेप रेकर्ड गरिएको थियो । न्याय मन्त्रालयले ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको दाबी गर्ने ती महिलालाई तिरिएको रकमबारे छानबिन गरिरहेको जनाएको छ ।

अभियोग नलगाइएका कनमाथि निर्वाचन कानूनको उल्लंघन गरेको र ब्याङ्क र कर छली अन्तर्गत अनुसन्धान भइरहेका खबर आएका छन् । सन् २०१६ को राष्ट्रपतीय चुनावका बेला मक्डुगलले आफ्नो कथा न्याशनल इनक्वाइररलाई बेचेकी थिइन्, जुन ट्रम्पका साथीको हो ।

१ लाख ५० हजार डलरको सम्झौताले उक्त पत्रिकालाई ट्याब्लोइड कथा छाप्ने अधिकार दिएको थियो र मक्डुगललाई भने आफ्नो ट्रम्पसँग रहेको भनिएको सम्बन्धलाई सार्वजनिक रुपमा भन्न प्रतिबन्ध लगाइएको थियो ।

शुक्रवार ट्रम्पका हालका वकिल रुडी जुलियानीले न्यूयोर्क टाइम्सलाई राष्ट्रपति र कनबीच मक्डुगललाई पैसा दिनेबारे छलफल भएको बताएका हुन् । तर पैसा भने कहिल्यै पनि नपठाइएको र ट्रम्पले कुनै गल्ती नगरेको उनले बताएका छन् । वाल स्ट्रिट जर्नलले सन् २०१६ को सेप्टेम्बरमा भएको उक्त संवादको रेकर्ड फोनमा नभइ व्यक्तिगत भेटघाटमा भएको र त्यो केवल दुई मिनेट नपुग्दै काटिएको जनाएको छ ।

मक्डुगलले ट्रम्पसँग उनले मेलानिया ट्रम्पसँग विवाह भएको एक वर्षपछि सन् २००६ मा १० महिना सम्बन्ध भएको बताएकी छन् ।