गाईघाट, उदयपुर– चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमा अवस्थित चौदण्डीगढी पर्यटकीय गन्तव्य बन्दै गएको छ ।


ADVERTISEMENT


तीन वर्षयता चौदण्डीगढीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य गरी अभियान थालिएको छ । चौदण्डीगढी पर्यटन विकास समितिका संयोजक रोहित तामाङका अनुसार यहाँ विकास गर्न शहरी विकास मन्त्रालयमार्फत भ्यू टावर निर्माण गरिँदैआएको छ ।


ADVERTISEMENT

# # #


चौदण्डीगढीमा सडक पुगेको छ । विद्युत् र खानेपानीजस्ता पूर्वाधारको समस्या छ । यसका लागि चौदण्डी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । विद्युत् व्यवस्थापनको काम तीव्र रुपमा अगाडि बढाएको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राई बताउँछन् ।

खानेपानी व्यवस्थापनका लागि नगरपालिकाको पहलमा प्रदेश नं १ सरकारले रु ९० लाख बजेट विनियोजन गरेको छ । बाँकी नगरपालिकाकै बजेटमा एक वर्षभित्र खानेपानीको व्यवस्था गरिने राई बताउँछन् ।

सेन राजाहरुको दरबारको भग्नावशेष तथा बिसासय कूल देवीको मन्दिरको जीर्णोद्धार गरेर सुरक्षित घेरबार गरी पुरातात्विक महत्वका वस्तुको संरक्षणको काम तीव्र रुपमा भइरहेको छ । चौदण्डीमा चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारदेखि सिधै चौदण्डीगढीसम्म केवलकार जोडेर सुनकोशीको रानीटारसम्म झार्ने लक्ष्य गरी अहिले निजी कम्पनीसँग सहकार्यको प्रयास भइरहेको नगर प्रमुख राईले बताए ।

यस्तै सुनकोशीको रानीटारमा जलयात्राका लागि पूर्वाधार पूर्णरुपमा तयार भइसकेको छ । बेल्टार बजार हुँदै चौदण्डीसम्म घुमेर सुनकोशीको रानीटारसम्म जलयात्रा गर्नका लागि सुनकोशीसम्म नै केवलकारसमेत जोडिन लागेपछि चौदण्डीगढी पर्यटनस्थलका रुपमा विकसित हुन थालेको समाजसेवी विष्णु कोइराला बताउँछन् ।

चौदण्डी घुम्न आउने पर्यटकका लागि गेष्टहाउस तथा होटल व्यवस्थापनको काम नगरपालिका र चौदण्डी पर्यटन विकास समितिको अगुवाइमा भइरहेको छ । चौदण्डीगढी १८२६ देखि उदयसेन, लोहाङ सेन र हेमदत्त सेनजस्ता सेनवंशी राजाले राज्य गरेको ऐतिहासिक थलोका रुपमा चिनिन्छ ।