विराटनगर– सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ ।


ADVERTISEMENT


पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको हो ।


ADVERTISEMENT

# # #


आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिकजस्ता विविधता रहेको विराटनगर शहर विसं १९७१ मा जिल्लाको पूर्वी तथा दक्षिणी क्षेत्र रंगेलीबाट सदरमुकाम सरेर आएको लगभग १०० वर्ष भइसकेको र अहिले मुलुककै दोस्रो विकसित शहरका रुपमा चिनिएको छ ।

हाल ७७ वर्ग किलोमिटरमा फैलिएको यो महानगरपालिकामा दुई लाख ८० हजार जनसंख्यामा रहेकामा महिला एक लाख ३८ हजार ८५ र पुरुष एक लाख ४२ हजार छन् । कूल १९ वटा वडा रहेको यो महानगरमा ४७ हजार ७९८ घरधुरी छन् ।महानगरपालिका क्षेत्रभित्र सुरक्षाको दृष्टिकोणले पूर्व क्षेत्रीय प्रहरी कार्यालय, सशस्त्र गणदेखि लिएर अन्य सुरक्षाका निकायहरु छन् ।

कुनै समयमा औद्योगिक नगरीका रुपमा परिचित विराटनगरमा बिपी कोइराला, मातृकाप्रसाद कोइराला, नगेन्द्र रिजाल त्यसपछिका राजनीतिक परिवर्तन सँगसँगै मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न सफल भएकाले राजनीतिक राजधानीको रूपमा पनि यो क्षेत्र परिचित हुँदै आएको छ ।

दर्जनौँ मन्त्री र समाजसेवी उत्पादन भएको यो क्षेत्रलाई विकसित गर्न ब्रिटिश सरकारले धरानमा स्थापना गरेको मलाया क्याम्प जान भारतको जोगवनीदेखि विराटनगर हुँदै धरानसम्मको सडक निर्माण हुनु र अहिले सो बाटो छ लेनमा विकसित हुँदै जानुका अतिरिक्त पूर्व–पश्चिमको हुलाकी मार्ग विराटनगरसँग जोडिनुका साथै विराटनगर–झापाको भद्रपुर , विराटनगर–उर्लाबारी र विराटनगर–विराट चोक जान यातायातको सुविधा भएकाले पनि विराटनगरलाई प्रदेश नं १ को राजधानी हुनुपर्नेमा जोड दिइएको हो ।

हाल क्षेत्रीयस्तरको विमानस्थल, औद्योगिक, शैक्षिक र स्वास्थ्य प्रतिष्ठानले पूर्णता पाएको विराटनगर राजधानी हुनलाई कुनै पनि कुराले समस्या नहुने स्थानीय ज्येष्ठ नागरिक इन्द्रप्रसाद दाहालले बताए ।

राजधानी विराटनगर नै हुनुपर्ने र यसको नामाकरण कोशी प्रदेश गरिनुपर्नेमा वरिष्ठ पत्रकार यज्ञराज शर्मा जोड दिए । हिमालबाट बगेर आउने सप्तकोशी नदी प्रदेश नं १ मा झापाबाहेकका सबै जिल्लामा पानी वितरण र भावनासँग जोडिएकाले यो प्रदेशको राजधानीको नाम कोशी हुनुपर्ने उनको दाबी थियो ।

उक्त महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई प्रादेशिक राजधानी बनाउन महानगरपालिकाबाट गरिने सबै किसिमको सहयोग गर्न तयार रहेकामा जोड दिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवासी विनोद ढकालले सबै सम्भावना भएकै कारण अस्थायी रुपमा बनेका प्रदेश नं १ का राजधानी अन्यत्र सार्न नमिल्ने तर्क गर्दै यो प्रदेशको नाम विवादरहित बनाउन कोशी वा सगरमाथा प्रदेश राख्नुपर्नेमा जोड दिए ।

सोही दलका अर्का केन्द्रीय सदस्य महेश रेग्मीले भौतिक पूर्वाधार, राजनीतिक चेतना, आर्थिक क्षेत्र, ऐतिहासिकतासँग जोडिएको विराटनगर नै स्थायी राजधानी हुनुपर्ने भन्दै सामाजिक सद्भाव र एकताका लागि यो प्रदेशको नाम ‘सगरमाथा प्रदेश’ भएमा सबैको शिर उच्च हुने र अन्तर्राष्ट्रियस्तरमा पनि देशको चिनारी हुने चर्चा गरे । – मोहम्मद सदरुल/रासस