भक्तपुर– भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।


ADVERTISEMENT


अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


ठक्करबाट गम्भीर घाइते भएका राउतको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार रमेशराजका छोरा १८ वर्षीय रवीन राउतको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

सोही समयमा एकै दिशाबाट आइरहेको बा ४६ प १५५२ नम्बरको मोटरसाइकलले दुर्घटनाग्रस्त कारलाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप खाँडादेवीका ३१ वर्षीय विष्णुबहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रामेछाप घर भएका ३३ वर्षीय राजन श्रेष्ठसमेत घाइते भएका छन् । घाइते दुवैको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कार चालक रमेशले मादकपदार्थ सेवन गरी सवारी चलाउँदा कार अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको र कार ठोक्किएर फर्किदा मोटरसाइकलसमेत कारमा ठोक्किन पुगी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस