काठमाडौँ– नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन बी टेप्लिजले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताएकी छन् ।


ADVERTISEMENT


गृहमन्त्री रामबहादुर थापासँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उनले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरवलोकन हुनुपर्नेलगायत विषयमा समेत जिज्ञासा राखेकी थिइन्।


ADVERTISEMENT

# # #


जवाफमा मन्त्री थापाले ती विषय मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिए । केही दिनमा राजदूतका रूपमा नेपालबाट आफ्नो कार्यकाल सम्पन्न गरेर फर्किन लाग्नुभएका राजदूत टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गरे ।

गृहमन्त्रीले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायत क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे। पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै गृहमन्त्रीले यसले विश्वशान्ति कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राजदूत टेप्लिजले आफू १३ दिनपछि नेपालको कार्यकाल सम्पन्न गरेर अमेरिका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाइ सुखद रहेको बताइन् । भेटमा मानव तस्करी नियन्त्रण तथा भुटानी एवं तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो ।