काठमाडौं– २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ ।


ADVERTISEMENT


पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ । चन्द्र ग्रहणको बेला चन्द्रमा रातो रंगको देखिने छ, जसलाई ‘ब्लड मुन’ पनि भनिन्छ ।


ADVERTISEMENT

# # #


नेपालमा चन्द्र ग्रहणलाई लिएर केही धार्मिक मान्यता पनि प्रचलित छन् जसलाई अशुभ पनि भनिन्छ । ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । गर्भवती महिलाहरुलाई पनि सजग रहन भन्ने गरिन्छ ।

तर, यसबारे विज्ञानको भने अलग धारणा छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने बेला चन्द्रमा र सूर्यको बीचमा आउँछ । यसलाई चन्द्र ग्रहण भनिन्छ । यसपटक चन्द्र ग्रहणको बेला चन्द्रमा पृथ्वीको केन्द्र भागबाट उत्तरतिर हुँदै जानेछ । यो स्थिति एक घण्टा दुई मिनेटसम्म रहनेछ । त्यसैले यसपटक चन्द्र ग्रहण लामो हुने छ ।

साथै यसपटक ल्यूनर एपोजी (पृथ्वी र चन्द्रमाको दुरी सबैभन्दा टाढा) हुनेछ । यही कारण यो चन्द्र ग्रहण २१ औं शताब्दीकै सबैभन्दा लामो हुनेछ ।

ग्रहणको बेला चन्द्रमा तारो रंगको हुने छ । यसो हुनुको कारण के हो भने जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ तब सूर्यको किरण छेकिन्छ र पृथ्वीको वातावरणको प्रभावको कारण चन्द्रमा रातो रंगको देखिन्छ । वैज्ञानिकहरुले यसलाई ‘ब्लड मुन’ भन्दछन् ।

ज्योतिष विज्ञानका अनुसार शुक्रबार ग्रहण सुरु हुनुभन्दा पहिले दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहानपख ४ बजेर ४ मिनेटसम्मको समयलाई सूतक मानिन्छ । सूर्योदयपछि सूतक समाप्त हुन्छ ।

खगोलविज्ञान र ज्योतिष विज्ञान दुवैमा चन्द्र ग्रहणको एक खास कारण छ । यद्यपि ग्रहणको विषयमा धेरै प्रकारका मिथक पनि प्रचलित छ । धेरै जनालाई अझै पनि चन्द्र ग्रहण नांगो आँखाले हेर्दा आँखा बिग्रिने डर छ । तर मिड नर्थ कोस्ट एस्ट्रोनोमीका डेभिड रेनेकाका अनुसार यसलाई नांगो आँखाले हेर्न सकिन्छ । उनी भन्छन्, ‘नांगो आँखाले हेर्दा पनि सुरक्षित हुन्छ । यो ज्यादै सुन्दर खगोलिय घटना हो, यसलाई अवलोकन गर्ने अवसर कुनै हालतमा गुमाउनु हुँदैन ।’

धार्मिक कथा
हिन्दु धर्ममा ग्रहणलाई लिएर धेरै प्रकारका पौराणिक मान्यताहरु छन् । चन्द्र ग्रहणसँग सम्बन्धित एक कथा पनि प्रचलित छ । भनिन्छ एकपटक राहु र देवताबीच लडाइँ भइरहेको थियो । देवता र राक्षस दुवैले अमरताको वरदान प्राप्त गर्न चाहन्थे र अमृत हात पार्न चाहन्थे । त्यहीबेला विष्णुले मोहिनीको रुप धारण गरेर राहुलाई मोहित पारे र उनीबाट अमृत हात पार्न सफल भए ।

राहुले पनि अमृत पाउनका लागि देवताहरुविरुद्ध अर्को चाल चल्ने विचार गरे । उनले देवताको भेष धारण गरे र अमृत बाँड्ने लाइनमा बसे । तर यो कुरा सूर्य र चन्द्रमाले थाहा पाए । त्यसपछि विष्णु भगवानले राहुको टाउको काटिदिए । त्यसपछि राहुबाट अर्को ग्रह बन्यो, त्यो हो केतु । सूर्य र चन्द्रमाबाट बदला लिनका लागि राहुले दुवैमा आफ्नो छायाँ पारिदिए । जसलाई हामी सूर्य ग्रहण र चन्द्र ग्रहण भन्दछौं । त्यसैले ग्रहणलाई अशुभ र नकारात्मक शक्ति सक्रिय हुने समय मानिन्छ ।

शुभकर्म बर्जित
ज्योतिषहरुले ग्रहण लागेको बेला धेरै शारीरिक र मानसिक कार्य नगर्न सल्लाह दिन्छन् । सनातनी परम्परामा देवदर्शन र यज्ञ लगायतका धार्मिक कार्य गरिँदैन । यस्तो अवस्थामा भजनकीर्तन गर्न सल्लाह दिइन्छ । सूतकको समयमा भोजन गर्न र पानी पिउन समेत नहुने बताइन्छ ।

ग्रहण लाग्नुभन्दा अगाडि खाने र पिउने कुराहरुमा तुलसीका केही पातहरु राख्ने चलन छ । साथै ग्रहणपछि भाँडाहरुमा राखिएको पानी बदल्नुपर्ने मान्यता छ । तर तामाका भाँडामा राखिएको पानीमा कुश वा तुलसीको पात राखेमा ग्रहणको प्रभाव नपर्ने धार्मिक विश्वास छ ।