काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण नेपाल एयरलाइन्सको अवस्था विग्र्रिएको बताइएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले नेपाल एयरलाइन्स विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण बिग्रिएकाले हाल सकारात्मक हस्तक्षेपको अपेक्षा गरिएको बताएका हुन् ।
उनले महाप्रबन्धक नियुक्तिको प्रक्रियासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले महाप्रबन्धक नियुक्ति गर्न कानुनी अड्चन भएको धारणा राखे । हाल निगमको ६ वटा जहाजमध्ये एउटामा मात्रै समस्या आउँदा पनि उडान तालिका फेरबदल गर्न र यात्रु व्यवस्थापन गर्न ठूलो धनराशि खर्च हुने गरेको उनले बताए । उनले विद्यमान परिपाटी र संरचनाबाट मात्र जहाज थपेर समस्या समाधान नहुने भएकाले पहिला संरचनागत सुधार आवश्यक रहेको धारणा राखे ।
नेपाल एयरलाइन्सलाई अगाडि बढाउन एउटा साहसिलो निर्णयको खाँचो रहेको भन्दै उहाले केवल सरकारी निर्णयले मात्र सम्भव नरहेको उल्लेख गरे । बैठकमा समिति सदस्यहरुले निगमको व्यवस्थापन निकै कमजोर रहेकाले माथि उठ्न समस्या भएको बताए ।
















