लण्डन– स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि उनको स्थानमा रियल म्याड्रिडले बेल्जियमका एडिन हजार्डलाई क्लबमा भित्र्याउने तयारी गरेको थियो ।


ADVERTISEMENT


तर, हाल हजार्ड आबद्ध रहेको क्लब चेल्सीले उनलाई बिक्री गर्न रियलसँग २० करोड पाउण्ड रकम माग गरेपछि ‘डिल’ रद्द भएको बेलियाती पत्रिकाहरुले जनाएका छन् । २७ वर्षीय खेलाडीले विश्वकपका दौराननै रियललाई आफूलाई अनुबन्ध गर्न संकेत दिएका थिए । तर, उनको मूल्याङ्कनको विषयमा भने दुई क्लबबीच आकाश जमिनको अन्तर देखिएको छ ।


ADVERTISEMENT

# # #


रियल हजार्डका लागि १५ करोड पाउण्डसम्म तिर्न तयार रहेको छ । यता, हजार्डले पनि ३ लाख पाउण्ड प्रतिहप्ता आम्दानी गर्ने गरी सन् २०२० सम्मको करारमा हस्ताक्षर नगरी बसिरहेका छन् ।

तर, चेल्सीले भने हजार्डलाई किन्न पेरिस सेन्ट जर्मेनले नेयमारलाई बार्सिलोनाबाट खरिद गर्दा खर्च गरेको १९.८ करोड पाउण्डभन्दा बढी रकम रियलले खर्च गर्नुपर्ने अडान प्रस्तुत गरेपछि यसले नाटकीय मोड लिएको बताइएको छ ।

रियलको शीर्ष तहले यो रकम धेरै भएको निश्कर्ष निकालेको छ जबकी हजार्डको करार दुई वर्षमा नै सकिँदैछ । यही कारणले रियलले हजार्डलाई किन्ने सोच तत्काललाई त्याग गरेको समाचारमा उल्लेख गरिएको छ ।

यता, चेल्सीका नयाँ प्रशिक्षक माउरिजियो सारी पनि हजार्डलाई क्लबमा राख्न चाहन्छन् । उनलाई क्लबमा राख्नकै लागि आगामी सिजन उनलाई कप्तान बनाउने तयारी गरिएको छ ।

हजार्डसँगै थियाबट कोर्टवा र विलायनले यो सिजन क्लब छाड्ने समाचारहरु बाहिर आइरहेका छन् । कोर्टवालाई रियलले प्रमुख लक्ष्य बनाएको छ भने विलायनलाई म्यान्चेस्टर युनाइटेडमा भित्र्याउन जोसे मोरिन्हो आतुर रहेका छन् ।

यता, सारीले चेल्सीका मालिक रोमन अब्रामोविच र निर्देशक मरिना ग्रानोभस्काइयासँग भेटेर चेल्सीले किन्नुपर्ने खेलाडीको सूची बुझाएका छन् । उनले युभेन्टसका ड्यानियल रुगानी र गोन्जालो हिग्वाइनलाई क्लबमा भित्र्याउनु पर्ने सुझाव दिएको बताइएको छ ।