त्रिशूली, नुवाकोट– नेपाली काँग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको गए राति ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्बुदरोगबाट निधन भएको छ ।


ADVERTISEMENT


काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएकामा उपचारका क्रममा गए राति नै निधन भएको आचार्यका सहकर्मी तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति ध्रुव अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


विसं २०३३ देखि काँग्रेसको राजनीतिमा होमिएका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा काँग्रेसका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो । पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनताका आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय भएका थिए ।

उनी २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति पदमा पार्टीबाट सभापतिको उम्मेदवार बनेका थिए । उनले विसं २०५६ मा पार्टीको जिल्ला समितिको कावा सभापतिसमेत भएर पार्टी हाँकेका थिए ।

नुवाकोटको प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदानलाई भुल्न नसकिने काँग्रेसका पूर्वसभापति अधिकारीले बताए । “प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदान अतुलनीय छ । नुवाकोटमा उहाँको योगदानलाई कोहीसँग तुलना नै हुन सक्दैन । उहाँ प्रजातान्त्रिक आन्दोलनका खम्बा हुनुहुन्थ्यो”, अधिकारीले भने “उहाँले पञ्चायतकालको असहज समयमा पनि जिल्लामा काँग्रेसलाई सशक्त रुपमा हाँक्नुभएको थियो ।’

प्रजातान्त्रिक आन्दोलनका क्रममा आचार्य पटक पटक कारागारसमेत परेका थिए। विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनका क्रममा पनि उहाँ कारागार पर्नुभएको पूर्वसभापति अधिकारीले बताए । “उहाँ धेरै पटक जेल पर्नुभयो । पटक पटक गरेर दुई वर्षभन्दा लामो समय जेल पर्नुभयो”, अधिकारीले भने ।

पछिल्लो समय आचार्य बिपी विचार मञ्चका जिल्ला अध्यक्ष र बिपी। विचार मञ्चका केन्द्रीय सदस्य थिए । स्व आचार्यका श्रीमती, दुई छोरा (एक छोरा अष्ट्रेलिया र एक छोरा दिनेश ‘शेयर कारोवार’ साप्ताहिकका प्रकाशक र सम्पादक) र तीन छोरी रहेका छन् ।