कञ्चनपुर– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको सोमबार दाहसंस्कार भएको छ। आइतबार राति जिल्ला प्रहरी कार्यालयमा मृतकका परिवार र आफन्तले गरेको सहमतिअनुसार उनको हत्या भएको पाँचदिनपछि सोमबार दाहसंस्कार गरिएको हो।


ADVERTISEMENT


सोमबार बिहान महाकाली आर्यघाटमा बुवा यज्ञराज पन्तले निर्मलालाई दागबत्ती दिए। उनले आफ्नी छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई कडा सजायको माग गरे।


ADVERTISEMENT

# # #


प्रहरीले घटनाको अनुसन्धान गर्न कुनै कसर बाँकी नराखी सत्यतथ्य रुपमा अनुसन्धान गर्ने र दोषीलाई हदैसम्मको सजाय गर्ने प्रतिबद्धता जनाएपछि मृतकका परिवार र आफन्त दाहसंस्कार गर्न तयार भएका हुन्।

‘हामीले घट्नाको अनुसन्धानमा कुनै कसर बाँकी नराखी अनुसन्धान गर्छौ’,एसपी दिल्लीराज विष्टले भने,‘छिट्टै दोषीलाई कानुनी दायरामा ल्याउने हिसाबले अनुसन्धान अघि बढ्छ।ु अपराधीलाई कुनै पनि बहानामा उम्कन नदिने प्रतिबद्वता उनले गरे।
दाहसंस्कारमा हत्या गरिएकी निर्मला पन्तका परिवार, आफन्त सहित प्रदेश सभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगरपालिकाका वडा अध्यक्षहरू र अन्य जनप्रतिनिधि, पत्रकार सहभागी थिए।

आइतबार नै दाहसंस्कार गर्ने भनि परिवार तयार भएपनि स्थानीयको आन्दोलन र विरोधले गर्दा हुन सकेको थिएन। आइतबार दिनभर महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल परिसर तनावग्रस्त बन्न पुगेको थियो। हत्याको छानबिनमा सहयोग गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली महेन्द्रनगर पुगिसकेको छ। टोलीले आइतबार देखी नै अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

भीमदत्त नगरपालिका वडा नम्बर २ महुलिया, उल्टाखाम घर भएकी १३ वर्षिया निर्मला पन्तको बिहीवार हत्या भएको हो। बिहीबार दिउसो साथीको घरमा अध्ययन गरेर फर्किएकी उनको हत्या भएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको थियो।