काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा आज भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


भेटमा ऊर्जामन्त्री पुनले नेपालमा नयाँ संविधान जारी भइसकेपछि स्थायित्वको युग शुरु भएको भन्दै इजरायली लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसँग आग्रह गरे ।


ADVERTISEMENT

# # #


मन्त्री पुनले भने, “हामीलाई १० वर्षमा १० हजार मेगावाट बिजुलीको आवश्यकता छ, अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्तालाई आग्रह गर्छु ।”

उनले इजरायलसँग धेरै लामो कुटनीतिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास समेत व्यक्त गरे । लामो समयदेखि दुई देशको बीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न सरकार इच्छुक रहेको धारणा राखे ।

भेटमा इजरायली राजदूत ओमेरले ऊर्जा र सिँचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आंतुर रहेको बताए । उहाले ऊर्जामा लगानीको लागि इजरायलले साझेदार खोजिरहेको भन्दै त्यसका लागि सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको धारणा राखे ।

‘नेपालको जलविद्युत्मा लगानी गर्न इजरायबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागि हामी साझेदार खोजिरहेका छौँ ।’ भेटमा राजदूत ओमेरले भने, “उहाँले निर्माण र हस्तान्तरण ढाँचामा काम गर्न इजरायल इच्छुक रहेको बताउनुभयो ।”