नेपाली कांग्रेस – माओवादी समझदारी अनुसार प्रधानन्त्री प्रचण्डले राजिनामा दिएसंगै नयाँ सरकारको गठनका लागि छलफल सुरु भएको छ । पूर्ववर्ती समझझदारी अनुसार अगाडी बढेमा कांग्रेस सभापति देउवा अब नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसंगै दलहरु दोस्रो चरणको तयारीमा लागेका छन् । यसैबीचमा एउटा प्रमुख दलको भातृसंगठनका हैसियतले अब बन्ने नयाँ सरकारसंग नेविसंघका के कस्ता आशा /अपेक्षा छन् ? दोस्रो चरणको निर्वाचनमा नेविसंघले के कस्तो तयारी गरेको छ ? लगायतका विषयमा नेपाल विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीसंग हिमालयपोष्टले गरेको  कुराकानीको सम्पादित अंश 


ADVERTISEMENT


एउटा राजनीतिक पार्टीको विद्यार्थी संगठनको नेतृत्वकर्ताको हिसाबले पछिल्लो अवस्थामा दौडधूप कस्तो भइरहेको छ ?


ADVERTISEMENT

# # #


करिब २० वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचन सम्पन्न भएर दोस्रो चरणको निर्वाचनको मिति पनि नजिकिदै छ । नेपाली कंग्रेसको एउटा प्रमुख भातृसंस्थाको कार्यकर्ता भएकाले यतिखेर हामीहरु केन्द्रिय समितिले खटाएको जिल्लामा गएर पार्टीलाई सहयोग गरिरहेका छौँ । त्यहाँ जादैगर्दा नेपाली कांग्रेसका उम्मेद्वारलाई नेपाल विद्यार्थी संगठनका तर्फबाट विभिन्न किसिमका सहयोगहरु गर्दै आएका छौँ ।

नेपाल विद्यार्थी संगठनले ‘वान वुथ थर्टी युथ’ भन्ने अभियानका साथ हरेक वुथमा तीस जना युवा खटाएको छ । मतदाताहरुलाई कसरी मतदान गर्ने, कस्तो अवस्थामा मत बदर हुन्छ ? लगायतका मतदाता शिक्षा सिकाउदै स्वतन्त्र, भयरहीत र निस्पक्षरुपमा निर्वाचन सम्पन्न गर्नका लागि एउटा स्वयम्सेवकको भूमिका निर्वाह गरिरहेका छौँ र अर्को कुरा मतदातालाई विश्वास दिलाएर नेपाली कांग्रेसको पक्षमा मतदान गर्नपनि आग्रह गरिरहेका छौँ । भखरै स्ववियुको निर्वाचन भएको छ । जसमा नेविसंघ पहिलो संगठनकारुपमा निर्र्वािचत भएको छ । विद्यार्थीका माग तथा आवश्यकतालाई सकेजति आफु र मताहत बाहिरका समस्यालाई सम्बन्धित निकायमा पुर्याएर कार्यान्वयनकालागि दवाव समेत दिदै आएका छौँ ।
लोकतन्त्रको बलियो जग आवधिक निर्वाचन भएकाले यसलाई संस्थागत गर्न हामी देशभर नै घुमिरहेका छौँ । यसैको सेरोफेरो वरीपरी व्यस्तता बढिरहेको छ ।

जुन रुपमा स्थानीय निर्वाचनको पहिलो चरणको निर्वाचनको परिणामहरु सार्वजनिक भइरहेका छन्, एउटा विद्यार्थी संगठनको नेताका हैसियतले यसलाई कसरी हेरिरहनु भएको छ ?

यसमा कुन पार्टीले जित्यो, कुनले हार्यो भन्दापनि अहिले जनताले जितेका छन् । देशले जितेको छ । किनभने लामो समयदेखि जनताले स्थानीय प्रतिनिधि नपाइरहेको अवस्थामा अहिले निर्वाचन भएको छ । पाँच वर्षका लागि जनता आफैले आफ्ना प्रतिनिधि छान्ने अवसर पाएका छन् । आफुले छानेका प्रतिनिधिहरुबाट आफ्नो पाँच वर्षे भविष्य निर्धारण हुने अवस्था आएको छ । सिंहदरबारका अधिकार स्थानीय स्तरमा पुगेका छन् । सबै ठाउँमा नया नयाँ नेतृत्व आएको छ ।

तर यसमा कांग्रेसले जुन आशा अपेक्षा गरेको थियो त्यो अनुसारको मतपरिणाम आएको छैन । त्यसको एउटै कारण मलाई के लाग्छ भने कांग्रेसले निर्वाचनको केही समय अघि गरेका निर्णयले गर्दा यस्तो भएको हो । जस्तो आइजीपी प्रकरण, प्रधानन्यायाधीशमाथिको महाअभियोग, राजदूत प्रकरण लगायतका कुरामा अधिकांश मिडियाहरुले गलतरुपमा समाचार सम्प्रेषण गरेका कारण जनतामा कांग्रेसप्रतिको विश्वास अलि घटेको हो कि जस्ता मलाई लागेको छ ।

अर्को के पनि हो भने अन्य दलको तुलानामा नेपाली कांग्रेसले अन्तिम समयसम्मपनि उम्मेद्वारको टुङ्गो लगाउन नसक्दा जनतासामू गएर आफ्ना एजेण्डाहरु प्रस्तुत गर्ने तथा प्रचार प्रसार गर्ने समयको अभावले पनि यस्तो परिणाम आएको हो भन्ने मलाई लाग्छ । दोस्रो चरणको निर्वाचनसम्म जनताले सरकारको काम तथा कांग्रेसका एजेण्डाहरुलाई सहीरुपमा बुझे भने अवश्य हामी ठूलो दल बन्नछौँ भन्नेमा म विश्वस्त छु ।

कांग्रेस– माओवादी केन्द्रबीचको समझदारी अनुसार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिइसक्नुभएको छ । अबको सरकार कांग्रेस सभापति देउवाको नेतृत्वमा बन्ने लगभग निश्चित जस्तै भएको छ । नयाँ सरकारलाई विद्यार्थी संगठनको तर्फबाट यहाँका सुझाव अर्थात कसरी अगाडि बढ्ने सल्लाह दिनुहुन्छ ?

हामी नेपाली विषम परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । लामो समयदेखि हाम्रा अग्रजहरुले नेपाली जनतालाई सार्वभौम सत्तासम्पन्न बनाउनका लागि, लोकतन्त्र स्थापना गर्नका लागि, नेपाली जनताको मुक्ति तथा स्वतन्त्रताका निमित्त लड्नु भयो, त्यो हामीले प्राप्त गरिसकेका छौँ । त्यसलाई संस्थागत गर्ने कुरामा देशको मूल कानुन हामी आफैले बनाइसकेपछि यो संविधानलाई कार्यान्वयनमा लैजानु पर्ने छ र यो दिशातिर गइसकेको छ । त्यो प्रक्रियापछि देश एउटा राजनीतिक स्थायित्व तिर जान्छ । राजनीतिक स्थायित्वबिना कुनैपनि किसिमको विकासको परिकल्पना गर्न सकिदैन जस्तो लाग्छ । त्यसैले राजनीतिक क्रान्तिलाई विश्राममा राखेर आर्थिक क्रान्तिको बाटो तिर हामी गयौँ भने यो देशलाई समृद्धिको बाटोतिर लैजान सकिन्छ ।

हामीहरुको एउटै माग भनेको यो देशको सबैभन्दा ठूलो शत्रुका रुपमा रहेका गरिबी, बेरोजगारी, अशिक्षाका विरुद्ध जनतासम्म पुग्ने खालका, युवासम्म पुग्ने खालका कार्यक्रमहरु अबको सरकारले ल्याउनु पर्यो । जसले गर्दा नेपाली समाज समृद्धितर्फ उन्मुख होस् भन्ने हाम्रो चाहाना रहेको छ । र यस संगसंगै आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएका विद्यार्थीहरुलाई शैक्षिक ऋण उपलब्ध गराउन तथा युवाहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराएर उनीहरुले कुनैपनि किसिमको व्यावसाय सञ्चालन गर्न सकोस् । यसका लागि हामी नेतृत्वलाई दबाब दिइरहन्छौँ ।

यो प्रविधिको युगमा समाजलाई अघि बढाउनका लागि हामीले तीनवटा कुराहरुलाई विशेष प्राथमिकताका साथ सरकारसामु उठाएर अगाडि बढ्नुपर्छ भनेको छौँ । जलस्रोत, पर्यटन र कृषिगरी यी तीन क्षेत्रको विकास गरेर देशलाई समृद्ध बनाउनका लागि विभिन्न किसिमका योजना ल्याउन सरकारलाई हामी घच्घच्याइरहने छौ । आर्थिक हैसियतका आधारमा हुने शिक्षाको विभेदलाई अन्त्य गरेर सबैलाई समान प्रयोगात्मक शिक्षा दिलाउने कुरामा हामी सरकारलाई अग्रसर हुन अनुरोध गर्नेछौँ ।

यी सबै योजनाहरुलाई कार्यान्वयनको दिशातिर लैजानका लागि स्वयम् नेविसंघ कसरी वा कस्तो भूमिकाका साथ अगाडि बढ्छ ?

विगतका दिनदेखि हामीले देख्दै आइरहेका पनि छौँ कि एउटा सरकारले विभिन्न योजनाहरु ल्याउछ, कार्यान्वयन गर्न नपाउदै सरकार परिवर्तन भइसक्छ । मैलै अघि नै तपाईलाई भने जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म कुनैपनि देशको विकास हुन सक्दैन । नेपालको सन्दर्भमा धेरै मानिसहरु राजनीतिलाई घृणा गर्छन् । उनीहरुको राजनीतिप्रतिको दृष्टिकोण नै बदलिएको छ । राजनीति गर्नेहरु अयोग्य, भष्ट्राचारी हुन्, जसले देशलाई डुबाए भन्ने सर्व साधारणको बुभाइ छ त्यसलाई बदल्नका लागि हाम्रो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठान्नु आवश्यक छ । नेपाली कांग्रेसको जुन सिद्धान्त छ, उद्देश्य, लक्ष्य छ, त्यसलाई कार्यान्वयन गर्न जरुरी छ ।

थुुप्रै राम्राराम्रा कार्यक्रम, परियोजना आउने तर ती बीचमै तुहिएर जानुको एउटै प्रमुख कारण भनेको हाम्रो देशमा स्थायी राजनीतिको अभाव हुनु हो । त्यसैले देशमा स्थायी राजनीति स्थापना गर्न सकियो भने हाम्रा जतिपनि एजेण्डाहरु समयमै कार्यान्वयन हुन्छन् । यस्ता योजना कार्यन्वयनका लागि युवाहरु सचेत हुन जरुरी छ । साथसाथै सम्बििन्धत निकायमा बसेकाहरुलाई खबरदारी गर्नपनि जरुरी छ ।

अन्त्यमा, तपाई अहिले एउटा विद्यार्थी संगठनको नेतृत्व गर्ने स्थानमा हुनुहुन्छ । सायद भविष्यमा तपाई राष्ट्रिय राजनीतिमा पनि पक्कै आउनु होला । एउटा विद्यार्थी राजनीतिज्ञको नजरबाट देशको भविष्य कस्तो देख्नुहुन्छ ?

राजनीति कहिल्यैपनि सरल रेखाबाट अगाडि बढ्दैन । त्यसलाई हरेक मानिसले स्वीकार्नु पर्छ । मैले माथि जे जति कुराहरु भने, यी कराहरु विशेषगरी युवाहरुसंग जोडिएका विषयहरु हुन् । युवाहरु वर्तमानका साझेदार हुन् र भविष्यका कर्णधार पनि हुन । यो देशको भविष्य कतातिर जाँदैछ भन्ने कुरा वर्तमानका युवाको स्थितिबाट सहजै अनुमान गर्न सकिन्छ ।

हामीले आज हरेक विद्यार्थीहरुलाई समय सुहाउँदो दिशातिर अग्रसर गराउन सकेनौँ भने देशले भोलि ठूलो मुल्य चुकाउनु पर्ने हुन्छ । सकारात्मक सोचका साथ भन्नुपर्दा यो देशको भविष्य उज्ज्वल छ । यसका निमित्त आधारहरु तय गरेर अगाडि बढ्यौँ भने स्वाविकरुपमा यो देश निकट भविष्यमा सम्पन्न राष्ट्रको रुपमा अगाडि बढ्न सक्छ ।

हामीले जहिलेपनि अधिकारका कुरा गर्यौै तर राष्ट्रप्रतिको मेरो व्यक्तिगत तथा सामुहिक कर्तव्य के हो कहिल्यै बुझ्न सकेनौँ । त्यसले गर्दा देश रुमल्लिएको अवस्थामा छ । हामीसंग प्रशस्त साधन स्रोत उपभोग गर्न सकेमा, रोजगारको शिलशिलामा विदेशमा रहेका हाम्रा जनशक्तिलाई नेपालमै काम गर्नसक्ने वातावराण सिर्जना गर्न सक्यौँ भने यो देश विकास गर्न कुनै युग कुर्नु पर्दैन ।