प्रतिनिधिसभाकी सांसद निरुदेवी पाललाई अज्ञात व्यक्तिले पेस्तोल ताकेको भनिएको घटना अहिले सार्वजनिक भएको छ । मंगलबार राति बानेश्वरमा अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल ताकेर मोबाइल लुटेको घटनाबारे सांसद पालले संसदमा जानकारी गराएकी छन् । घटनाको बारेमा उनको भनाई जस्ताको त्यस्तै :


ADVERTISEMENT


सम्माननीय सभामुख महोदय,


ADVERTISEMENT

# # #


यही १५ गते राती ८ बजेर १५ मिनेटमा म स्वयम् (यो देशको सांसद) माथि एउटा घटना घट्यो । तर दुर्घटना भएन । यो कुरा म सम्माननीय सभामुखमार्फत सरकार र सम्पूर्ण जनतासमक्ष भन्न चाहन्छु ।

यो देशमा एक जना सांसद सुरक्षित छैन् भने हामी नेपाली चेली सुरक्षित छन् भनेर कसरी भन्न सक्छौँ ? दिनदिनै नेपाली चेलीहरु बलात्कृत भएका छन् । ती चेलीलाई बलात्कार गर्ने अपराधीलाई फाँसी देऊ भनेर सडकमा मात्र होइन यो सदनमा समेत हामी भनिरहेका छौँ ।

सम्माननीय सभामुख महोदय, म आफैमाथि घटेको घटनालाई यहाँ विस्तृत जानकारी गराउन चाहन्छु । यही १५ गते साँझ ८ बजे (त्यो दिन म अलि चाँडै घर पुगेकी थिएँ) दूध लिनका लागि बाहिर पसलमा गएँ । मेरो घर जाने बाटो अलि साँघुरो छ । त्यहाँ गल्लीमा अध्याँरो थियो ।

म दूध लिन गइराख्दाखेरि त्यो गल्लीको मुखैमा एक जना रेनकोट लगाएको मानिस उभिरहेको थियो । मैँले त्यती ध्यान दिइनँ । मलाई देखिसकेपछि त्यो मानिस मतिर मुख फर्काएर भित्तातिर फर्कियो । म पसलमा दूध लिन जाँदा त्यो गल्लीको अगाडी दुई तीनवटा मोटरसाइकलहरु थिए र तीन-चार जना मानिसरु त्यो भित्तातिर खासखुस कुरा गरिरहेका थिए ।

तलको पसलमा दूध नपाएपछि फेरि म माथिको पसलमा गएँ । माथिको पसलबाट दूध लिएर फर्किने क्रममा मलाई खुट्टाले छेकेर घाँटीमा पेस्तोल ताकियो । मेरो अहिले पनि यहाँ (घाँटी देखाउँदै) नीलो डाँम छ र दुखिरहेको छ । मलाई पेस्तोलले घचेटेर, तर्साएर त्यस्तो गरियो । मैँले यो घटनालाई पृथक ढंगले लिएकी छु सम्माननीय सभामुख महोदय ।

मैँले कसैलाई आक्षेप लगाउन खोजिरहेको छैन । निरु पाललाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ कि भन्ने यदि कसैलाई लागेमा त्यो दिवास्वप्न मात्रै हुनेछ भन्ने कुरा राख्न चाहन्छु ।

यदि भोलिको बैठकमा तँ गइस् भने (सम्माननीय प्रधानमन्त्रीको नाम घटिया शब्दमा लिएर) उहाँले खोज्दापनि तेरो लाससमेत भेटाउन सक्दैन भन्ने कुरा मलाई ‘थ्रेड’ गरियो । मेरो मोबाइल खोस्दै गर्दा तैँले हल्ला गरिस् भने यहीँ ढाल्दिन्छु भनेर मलाई धम्क्याइयो ।

म भन्न चाहन्छु, निरु पाल त्यो धम्कीले धम्किनेवाला छैन । नीरु पाल त २०१४ सालमै मरिसक्थ्यो । सम्माननीय प्रधानमन्त्री र अहिलेका राष्ट्रपति सम्माननीय विद्या भण्डारी यदि त्यतीखेर हुनुहुन्नथ्यो भने म त २०१४ मै मरिसकेको मानिस ।

मेरो त यो नाफाको जीन्दगी हो । त्यसो भएको हुनाले मैँले देश र राज्यकोसामू गद्दारी गर्ने छैन भनेर वाचा पनि गरेकी छु । म आफ्नो ज्यानको प्रवाह नगरिकन, कहीँकतै नडग्मगाइकन देश र जनताका पक्षमा लडिरहनेछु । मेरो अन्तिम ससार रहुञ्जेलसम्म लडिरहनेछु । म त्यो पेस्तोल देखाउँदैमा म डराउने मानिस होइन ।

निरु पाललाई तर्साएर संसदीय सुनुवाई समितिको बैठकमा अन्यथा गर्न खोजेको भन्ने पनि मलाई लाग्दैन । मैँले अघि पनि भनेँ, यसलाई पेथक ढंगले सोचिरहेकी छु । तर समितिको जे निर्णय आउनेछ, त्यो समितिकै निर्णय हुनेछ । समितिका सम्पूर्ण सदस्यज्यूहरुले एकतावद्ध हुँदै गम्भीर ध्यानाकर्ष गराउनुभएको छ ।

मैँले त्यो घटना घट्नेबित्तिकै राज्यप्रमुखलाई खबर गरेकी थिएँ । सुरक्षादेखि अन्य कुरामा शतर्क गराउनु भएको छ । त्यसका लागि आभार व्यक्त गर्न चाहन्छु । निरु पाललाई मात्रै होइन, राज्यका सम्पूर्ण चेलीहरुलाई सुरुक्षाको प्रत्याभूति यो सरकारले गराओस् भन्ने कुरा सम्माननीय सभामुखमार्फत सरकारको ध्याकर्षण गराउन चाहन्छु । धन्यवाद ।