काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। राजपाका अध्यक्ष मण्डलको बैठक बसिरहेको छ भने संघीय गठवन्धनको बैठक पनि बोलाइएको छ ।


ADVERTISEMENT


उम्मेद्वारी मनोनयनलाई लक्षित गर्दै जेठ १८ र १९ तराई र मधेसका जिल्लाहरुमा आह्वान गरेको आम हड्ताल लगायत तीन दिनको कार्यक्रम स्थगित गरिएको राजपा महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पार्टीको अध्यक्ष मण्डलको वैठकले निर्वाचनको मिति सरेकाले निर्वाचन केन्द्रित सबै विरोधका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो। आन्दोलनका परिमार्जित कार्यक्रम संघीय गठबन्धनको वैठकपछि आउने पनि पार्टी नेता मनिष सुमनले बताए। राजपाले गत जेठ १२ गते संविधान संशोधनको माग राखेर निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो।

सरकारले राजपालाई सहभागी गराउनकै लागि जेठ ३१ मा गर्ने भनेको दोस्रो चरणको निर्वाचन असार १४ गते सारेको छ। तर, राजपाले भने निर्वाचनको वातावरण तयार गर्न माग गर्दै आएको छ र हालसम्म निर्वाचनमा सहभागी हुने प्रतिवद्धता जनाइसकेको छैन।