गौशाला– महोत्तरी जिल्लामा दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले भर्ना गरेका म्यादी प्रहरीले भने पैसा असुल्न थालेको गुनासो सुनिन थालेको छ ।


ADVERTISEMENT


नेपाल प्रहरीसरह नै जिल्लाका विभिन्न गाउँ, सहर र चोकचोकमा पालैपालो २४ घन्टे ड्युटीमा बसेका म्यादी प्रहरी ड्युटीमै पैसा असुल्न थालेको सर्वसाधारण जिल्लावासीको आरोप रहेको छ । महोत्तरीको सदरमुकाम जलेश्वरको दुर्गाचौक, शङ्करचौक, नगरपालिकाचौक, जिरोमाइललगायत चौकमा म्यादी प्रहरीले विभिन्न व्यापारी, व्यवसायी तथा सवारी चालकसँग पैसा असुल्न थालेको आरोप छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, जिल्लाका भिट्ठामोड, मटिहानी, नैन्ही, बथनाहा, कटैया, इटहर्वा, रघुनाथपुर, सम्सीलगायत सीमानाकामा समेत खट्न थालेका म्यादी प्रहरीले सीमापारिबाट आउने सर्वसाधारणदेखि साना, ठूला व्यापारी व्यवसायीसँग रकम असुल्न थालेको प्रत्यक्षदर्शी बताउँछन् ।

यसका अलावा राति पनि खट्ने गरेका म्यादी प्रहरीले चेकजाँचका नाममा चोकचोकमा अनावश्यकरुपमा सबै सवारीसाधनलाई रोक्ने, दुःख दिने र पैसा असुल्ने गरेको विभिन्न ठाउँबाट गुनासा आएका छन् ।

म्यादी प्रहरीले प्रेस, एम्बुलेन्स लगायतका सवारीसाधनलाई पनि अनावश्यकरुपमा रोक्ने र चेकजाँच गरेर हैरान पार्ने गरेको देखिएको छ । यसअघि, नेपाल प्रहरीले असुल्दै आएको पैसा अब म्यादी प्रहरीले असुल्न थालेको र नेपाल प्रहरी त्यहाँ उपस्थित रहँदा पनि उसले केही नभन्ने गरेकाले उनकै संलग्नता र आदेशमा म्यादी प्रहरीले पैसा असुल्ने गरेको सर्वसाधारणको आरोप रहेको छ ।

यसबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सोध्दा त्यहाँबाट म्यादी प्रहरीले त्यस्तो कुनै काम नगरेको जवाफ आएको छ ।रासस