उदयपुर– जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै आएको सेवा अर्थाभावका कारण बन्द भएको छ ।


ADVERTISEMENT


औषधालयका कर्मचारीका अनुसार एक वर्षदेखि सो औषधालयले उपचारका लागि आउने सेवाग्राही तथा बिरामीलाई दिँदै आएको पञ्चकर्म सेवा तथा केही थेरापी सेवा दुई महिनादेखि बन्द हुँदै आएको हो ।


ADVERTISEMENT

# # #


गाईघाटका सेवाग्राही राजकुमार राउत भन्छन्, “आफू ग्याष्टिक र सुगरको बिरामी भएकाले औषधालयमा पञ्चकर्म सेवा लिन दैनिक बिहान आउने गरेको थिएंँ, अहिले अचानक सेवा बन्द हुँदा आफूलगायत पचासौं सेवाग्राही निराश भएका छौँ ।”

सिरहा कचनारीबाट औषधालयमा सेवा लिन आएका अर्का सेवाग्राही कृष्णदेव यादवको पनि गुनासो उस्तै छ । यादवले भने, “आफू महिनामा दुई पटक औषधालयमा विभिन्न थेरापीको लागि उपचार लिन आउने गरेको नियमित ग्राहक भएकाले अहिले सेवा नै बन्द भएछ, अब कसरी उपचार पाउने चिन्तामा छु ।”

पञ्चकर्म सेवामा योगा, स्नेह, स्वेदन, बमन, बिरेचन, अक्युपञ्चरजस्ता सेवा औषधालयले प्रभावकारी ढंगले उपलब्ध गराउँदै आएपछि केही समयअघिसम्म दैनिक सयौंको संख्यामा उपचारको लागि सेवाग्राही औषधालय आउने गरेको औषधालयका वैद्य दीपाकला राई बताएका छन् ।

आफूहरूले प्रभावकारी सेवालाई निरन्तरता दिन नसक्दा अहिले ठूलो संख्यामा सेवाग्राही मर्कामा परेको र औषधालयमा अहिले दैनिक दशसम्म मात्र सेवाग्राही तथा बिरामी आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।

औषधालयका डा सञ्जीवकुमार यादव भने, “औषधालयमा सामान्य उपचारबाहेक पञ्चकर्म सेवा पनि उपलब्ध गराउँदै आएका थियौँ, तर स्वास्थ्य विभागले विनियोजन गरेको न्यून बजेट सकियो, त्रियुगा नगरपालिकाले उपलब्ध गराएको रु दुई लाख बजेट पनि सकियो, अब बजेट छैन, त्यसैले यो सेवा निरन्तर सञ्चालन गर्न सकेनौँ ।”

२००४ सालमा गाईघाटको बोक्सेमा स्थापना भएको सगरमाथा आयुर्वेदिक औषधालय सगरमाथा क्षेत्रकै पहिलो र पुरानो औषधालय हो भने अहिले यहाँ एक डाक्टरसहित चार मात्र कर्मचारी रहँदै आएका छन् ।

खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिरहा र भारतबाट समेत यस औषधालयमा सेवाग्राही उपचारका लागि आउने गरेको भएता पनि आयुर्वेदिक विभागले यसको उचित व्यवस्थापनमा ध्यान नदिँदा यो औषधालय अहिले औषधिबिहीन बन्न पुगेको छ । रासस