बाँके– नेपालगञ्ज–४ का गोविन्ददेव अधिकारीलाई महिनामा कम्तिमा एक पटक बाँकेको बैजनाथ–१ मा रहेको गाभर भ्याली पुग्नैपर्छ, कहिले साथीभाइसँग त कहिले परिवारसँग ।


ADVERTISEMENT


उनले भने, “यहाँको मनोरम दृश्य, थारु संस्कृति, थारु परिकार साह्रै राम्रो लाग्छ । नेपालगञ्जका स्तरीय होटलभन्दा राम्रो परिकार सस्तोमा खान पाइन्छ । प्राकृतिक सौन्दर्यता मनमोहक छ ।” आफूलाई प्रकृतिप्रेमी भन्न रुचाउने अधिकारी ग्रामीण पर्यटनको प्रवद्र्धनका लागि सबैको साथ चाहिने बताउँछन् । उनी भन्छन्, “म प्रकृतिलाई माया गर्छु ।”


ADVERTISEMENT

# # #


छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

“मानसिकरूपमा बोझ बढेका बेला यहाँ आउँदा आनन्द हुन्छ,” नेपालगञ्ज–५ का दीपक शाहीले भने, “हामी निम्नवर्गका लागि गाभर भ्याली उपयुक्त गन्तव्य हो । म यहाँ धेरै पटक साथीसँग आएको छु ।” उनी पनि थारु संस्कृति र परिकारबाट निकै प्रभावित रहेका छन् ।

थारु र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबास(होमस्टे)मा दैनिक करीब कम्तिमा १५० पर्यटक पुग्ने गरेका छन् । नेपालगञ्जभन्दा चिसो मौसम र थारु परिकारमा रम्न पाएपछि आन्तरिक पर्यटक त्यहाँ पुगेर रमाउने गर्दछन् ।

चारैतिर घना जंगलले घेरिएको गाभर भ्याली अध्ययन अनुसन्धानका लागि समेत उपयुक्त भएको बताएका छन्, नेपालगञ्जका व्यवसायी गोकर्ण न्यौपाने । उनले भने, “थारु र मुगेली समुदायको बस्ती रहेको गाभरमा दुईखाले संस्कृति छ । गाभर भ्यालीलाई थारु र मुगेली संस्कृतिको अध्ययन गर्ने थलो बनाउन सकिन्छ ।”

न्यौपानेले वन विज्ञान तथा संस्कृतिसम्बन्धी अध्ययनरत विद्यार्थीको अध्ययनका लागि निकै लाभदायक र उपयुक्त ठाउँका रुपमा विकास गर्नुपर्ने बताएका छन् । पर्यटकको संख्या बढ्न थालेपछि होमस्टे सञ्चालकसमेत होमस्टेको स्तरवृद्धि गर्न तल्लिन छन् ।

वातावरण संरक्षणकर्मी अध्यक्ष हेमन्तराज काफ्लेले भने, “गाभर क्षेत्र प्रकृतिकै बरदान रहेछ । समुदायले थोरै मात्र व्यवस्थापन गर्न सके मध्यपश्चिमकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।” होमस्टे सञ्चालनपछि गाभरका स्थानीयको जनजीवनमा समेत परिवर्तन आएको छ ।

विगतमा कामको खोजीमा दौडिनुपर्ने स्थानीयको दैनिकी आजभोलि होमस्टे व्यवस्थापनमै बित्ने गरेको छ । गाभर भ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरीले पर्यटक आगमन वृद्धिसँगै होमस्टेको संख्या बढाउने तयारी गरिरहेको बताएका छन् ।

उनले भने, “हामीले पाहुनाको स्वागतका साथै थारु परिकार, सामुदायिक वनमा चरा अवलोकन, जंगल सफारीलगायतका पर्यटकीय गतिविधि गरिरहेका छौँ ।” चार वर्षअघि एउटा घरबाट शुरु गरेको होमस्टेको संख्या हाल आठ पुगेको छ भने ४० जनालाई एकैपटक बास बसाउन सकिने गरी कोठा व्यवस्थापन गरिएको छ ।

गाभर भ्यालीमा आन्तरिक पर्यटकका साथै भारत, स्वीट्जरल्याण्ड, क्यानडा, बंगलादेश, अमेरिका, थाइल्याण्ड, बहराइनलगायतका विभिन्न मुलुकबाट हालसम्म दुई सय बाह्य पर्यटकले भ्रमण गरिसकेका छन् । अधिकांश बाह्य पर्यटक अध्ययन अनुसन्धानका लागि आउने गरेको गाभर भ्याली होमस्टे व्यवस्थापन समितिले जनाएको छ । रासस