काठमाडौँ– सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ ।


ADVERTISEMENT


ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले पटक/पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ भएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने समस्याका कारण स्थानीयवासीसँगै नेपाल भ्रमणमा आएका पर्यटक नराम्रोसँग प्रभावित हुने गरेका छन् ।


ADVERTISEMENT

# # #


गतवर्ष सडकमर्मत नभएको भन्दै ठमेलमा स्थानीय व्यवसायीले सडकमा नै धान रोपेर प्रतिकात्मक विरोध गरेका थिए । ठमेलको रौनक हराउँदै गएकोमा स्थानीय व्यापारी चिन्तित छन् । सरकारले ठमेल क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको कारण मझौला तथा साना सवारीसाधन नचल्दा केही सहज भए पनि हिलो र धूलोका कारण पैदलयात्रुले सहज रुपमा यात्रा गर्न पाएका छैनन् ।

सडक खन्ने र नपूर्ने प्रवृत्तिका कारण व्यापार व्यवसाय घटेको स्थानीय व्यापारीले गुनासो गरेका छन् । स्थानीय निकायको निर्वाचनपछि ठमेल क्षेत्रले जनप्रतिनिधि पाए पनि आफूहरुको समस्या समाधानमा चासो नदिएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् । पर्यटकीय क्षेत्रको महत्व र गरिमालाई कायम राख्न तत्काल सडक कालोपत्र गर्न उनीहरुले माग गरेका छन् । वर्षात्का कारण ठमेल क्षेत्रको सडक मर्मत र कालोपत्र गर्न समस्या भएको जानकारी दिँदै स्थानीय जनप्रतिनिधिले केही दिनभित्रैमा समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । जनप्रतिनिधिको भनाइ विश्वसनीय नभएको भन्दै स्थानीय व्यवसायीले भने तत्काल विश्वास गरिहाल्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।

“पर्यटकले निकै सास्ती पाएका छन्, व्यापार व्यवसाय घटेको छ, राजधानीकै मुटुमा यस्तो समस्या छ भने अन्यन्त्र कस्तो होला रु” ठमेलका व्यवसायी किरणदेव घिमिरे भन्छन् ।

यस्तै समाजसेवी विश्वम्भरलाल प्रधान राज्यको ठमेललाई हेर्ने दृष्टिकोण ठिक नभएका कारण यहाँका व्यवसायीले दुःख पाएको बताउँछन्। “ठमेलले नेपालको आर्थिक विकासमा ठूलो भूमिका खेलेको छ, तर यसको विकासका लागि राज्यले केही गर्न सकेको छैन,” उनले भने, “विश्वमा नेपाललाई चिनाएको ठमेल अहिले समस्याले जकडिएको छ ।”

अहिले ठमेलको क्वाबहालदेखि नर्सिङचोक, अमृत क्याम्पसदेखि ज्याठा मार्ग, सञ्चयकोष भवन अगाडि सडक कालोपत्र नहुँदा तथा सडकमा पानी जम्दा स्वदेशी तथा बाह्य पर्यटकका साथै स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । फ्रान्सबाट नेपाल घुम्न आएका जेराल्ड राजधानीकै बीच भागमा रहेको ठमेलको अवस्था कल्पना नै गर्न नसकिने भएको गुनासो गर्छन् । पटक÷पटक नेपाल भ्रमणमा आएको बताउने उनले सडक मर्मतमा ध्यान दिन आग्रह गरे ।

अमृतमार्ग अगाडि ‘ब्यास ट्राभल्स एण्ड टुर्स’ सञ्चालन गर्दै आएका दीपक भट्टराई ठमेल क्षेत्रमा जथाभावी खनिएका बाटोका कारण मुलुकको पर्यटन विकासमा ठूलो असर पुगेको बताउँछन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी आयोजनाको पाइप ओछ्याउँदा खनिएका सडक मर्मत नहुँदा ठमेलका गल्लीमा खाल्डो पर्नुका साथै पानी जमेको बताउँछन् । “समग्र ठमेल क्षेत्र राम्रो छ, केही गल्ली मर्मत नहुँदा हिलोनै हिलो छ, यसको मर्मत चाँडै हुन्छ,”–उनी भन्छन् ।

ठमेल क्षेत्र काठमाडौँ महानगरपालिका–१६ र २६ मा पर्छ । कामनपा –२६ का अध्यक्ष ख्यामराज तिवारी बाटो विस्तार र पानीका कारण ठमेल क्षेत्रमा खाल्डाखुल्डी परेको स्वीकार्छन् । “पानी परेका कारण सडक मर्मत तथा कालोपत्र गर्न केही ढिलाइ भएको छ, पानी कम हुने वित्तिकै हामी पुनःनिर्माणको काम शुरु गछौँ,” उनले भने । अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले रु एक करोड ९ लाख बजेट विनियोजन गरेको छ ।

कामनपा– १६ का वडाध्यक्ष मुकुन्द रिजाल क्षेत्रपाटीदेखि जेपी स्कुलसम्मको सडक मर्मतका लागि मेलम्ची खानेपानी आयोजनालाई जिम्मा दिइसकिएको बताउँछन् । उनले खाल्डाखुल्डी राख्नुहुन्न भन्नेमा हामी सचेत छौँ, समस्या समाधानका लागि पहल भइरहेको र केही समयभित्रै आफ्नो वडाका कुनै पनि स्थानमा खाल्डाखुल्डी नहुने स्पष्ट पारे । स्थानीयवासीले सडक मर्मत नभएको भन्दै दैनिकजसो नै महानगरका वडा कार्यालयमा गुनासो गरिरहेका छन् । समस्या समाधान भने नागरिकले अपेक्षागरेअनुसार हुन सकेको छैन ।

कामनपा –१७ का वडाध्यक्ष नवीन मानन्धर ढल जाम भएका कारण समस्या समाधान गर्न सडक खनिएको भए पनि वर्षाले मर्मतमा जटिलता ल्याएको बताउँछन् । वर्षा रोकिने वित्तिकै मर्मत थाल्ने भन्दै उनले समस्याका कारण स्थानीयवासीलाई परेको गुनासो शीघ्र सम्बोधन गरिने उल्लेख गरे । सरकारले आगामी भदौ १२ भित्र काठमाडौँभित्रका सडकमा रहेका सबै खाल्डाखुल्डी पूर्णरुपमा मर्मत गर्ने र खाल्डोरहित बनाउने लक्ष्य राखेको छ ।

मनसुनका कारण वर्षा हुँदा मर्मत गर्न केही समस्या भए पनि घाम लाग्ने वित्तिकै कालोपत्र गर्ने लक्ष्य राखेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भदौ दोस्रो साताभित्रै सडक मर्मत गरिने र खाल्डाखुल्डीरहित बनाइने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १५ गते सरोकारवाला सबै निकायका प्रमुख तथा पदाधिकारीलाई बोलाएर सडक मर्मत गर्न निर्देशन दिएका थिए। रमेश लम्साल, अच्युत रेग्मी/रासस