चितवन– जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आज उक्त आदेश गरेको हो । हत्या गरिएका कृष्ण प्रसाद अधिकारीका दाजु नुरप्रसाद निकै लामो समयदेखि वेपत्ता थिए ।


ADVERTISEMENT


शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पुर्याई अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश गरेको अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताए ।


ADVERTISEMENT

# # #


यसअघि फागुन १३ गते न्यायाधीश शर्माले अधिकारीलाई झिकाउन म्याद जारी गरेका थिए । सो समयमा जिल्ला अदालत गोरखाका कर्मचारीले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरेका थिए । सो कार्य रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको हो ।

अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेका अनुसार म्याद जारी गर्दा स्वयं व्यक्ति, नभेटिए घरका जहान, त्यो पनि सम्भव नभए घरको मूल ढोकामा म्याद टाँस गर्नुपर्ने हुन्छ । यसअघि रित नपुगेका कारण पुनः म्याद जारी गर्न आदेश भएको हो । घिमिरेका अनुसार भदौ ४ गते अधिकारीलाई अदालतमा हाजिर हुने गरी म्याद जारी गरिने भएको छ ।

अदालतमा आज वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली, जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराम गिरी र अधिवक्ता ईन्द्र अर्यालले बहस गरेका थिए । त्यसैगरी प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ता दिनमणि पोखरेलले बहस गरे ।

के हो फुजेल काण्ड ?

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको वि.सं. २०६१ जेठ २४ गते चितवनमा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।

मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

मुद्दामा १३ जना प्रतिवादी छन् । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले दुईजनालाई धरौटीमा छाडेको थियो ।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । असार २४ गते पौडेल सर्वोच्चमा समक्ष हाजिर भएका थिए । अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको छ ।

हत्यारालाई कारबाही नभएको भन्दैं कृष्णप्रसाद अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए । अनसनकै क्रममा नन्दप्रसादका निधन भयो ।

गंगामायाले हाल अनसन तोडेकी छिन् । उनलाई सरकारले क्षतिपूर्ति वापत एक करोड रकम प्रदान गरेको छ ।