चितवन– भरतपुर महानगरपालिकाको मतगणनास्थलमा ९० वटा मतपत्र च्यातिएको अवस्थामा भेटिएको छ । माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि उत्पन्न विवादकै बीच आज भएको च्यातिएको मतपत्र गणनाको क्रममा यस्तो भेटिएको हो ।


ADVERTISEMENT


प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, निर्वाचनमा सहभागी भएका राजनीतिक दलका प्रतिनिधीहरुले जेठ १४ गते मध्यराति च्यातिएका मतपत्रहरुको संख्या एकिन गरेको हो । माओवादी कार्यकर्ताले मतगणनाका क्रममा मतपत्र च्यातेपछि त्यसलाई शिलबन्दी गरी राखिएको थियो ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको उपस्थितिमा बिहीबार शिलबन्दी खोलिएको थियो । भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, ‘आयोगको निर्देशन अनुसार मतगणनाका क्रममा क्षति भएको मतपत्र एकिन गर्दा ९० रहेको देखियो । अब यहि रिपोर्ट आजै निर्वाचन आयोगसमक्ष पठाउँछु ।’

मतपत्र गन्न मिल्ने र नमिल्ने भन्दा पनि नोक्सान भएका मतपत्र कति छन् भनेर आयोगले सोधेको हुनाले सोही अनुसारको रिपोर्टिङ केन्द्रमा गरिने न्यौपानेले बताए ।

यसैबीच गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई जिल्ला अदालत चितवनका न्यायाधीस वासुदेव पौडेलको एकल इजलासले थुनछेक आदेशका क्रममा जनही एक लाखको धरौटी मागसहित छाडेको हो ।

जिल्ला अदालत चितवनका निमित्त श्रेष्तेदार धनीप्रसाद चापागाईंका अनुसार उनीहरुविरुद्ध निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा २ अनुसारको कारवाहीको माग गरिएको थियो ।