काठमाडौँ– उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको मुहान क्षेत्र सुन्दरीजल बोलबम पर्यटकीय स्थलका रुपमा विकसित भएको छ । प्रत्येक वर्ष साउनमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजनको भीड लाग्ने गर्दछ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवम् बार भएकाले यस दिन शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।


ADVERTISEMENT


भोलेनाथ काँवरिया संघको आयोजनामा आइतबार बेलुकी नै सुन्दरीजल पुगेका भक्तजन बिहानै लौरो ९काँवर० को दुईतिर जल लिएर पशुपति आएका थिए । खाली गोडा पैदलबाट ११ किमीको दूरी पार गरेर पशुपतिनाथ मन्दिरमा आएका बोलबम यात्रीले जल चढाए । पहेँलो वस्त्र लगाएका भक्तजनले सडकमा ठूलो आवाजमा बोलबम भनी यात्रा गरेका थिए ।


ADVERTISEMENT

# # #


यात्रीलाई ठाउँठाउँमा स्वागत गर्ने समूह पनि थिए । दुई दशक अघि यो मार्गमा बोल बम यात्रा शुरु हुँदा तराईका नागरिकमात्र सहभागी हुने गरेकामा अहिले पहाडी र हिमाली जिल्लाका नागरिकको पनि भीड लाग्न थालेको छ । पाँच लाख बढी भक्तजनले आजै सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेको बोलबम मेला व्यवस्थापन समितिका सचिव श्रीहरि पोखरेलले बताए ।

पशुपतिमा भीड

साउनको तेस्रो सोमबार आज पनि बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उमाकुण्ड, मित्रपार्क, जयवागेश्वरी र पिंगलास्थानमा लामबद्ध भई भक्तजन पशुपति मन्दिर प्रवेश गरेका थिए ।

बिहानै र दिउँसो ३ बजे वर्षाले भक्तजनलाई लामबाट मन्दिर प्रवेशमा अवरोध गरेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । बेलुकी ५ बजेसम्म तीन लाख बढी भक्तजनले मूल मन्दिर प्रवेश गरेर पूजा एवम् दर्शन गरेको उनले सुनाए । बेलुकी ९ बजेसम्म मन्दिरका चारैढोका दर्शनार्थीका लागि खोलिने भएको छ । भक्तजनले भने साउन महिनामै पशुपति क्षेत्रमा सडक भत्काएर निर्माण शुरु गरेकाले मन्दिर प्रवेश गर्न समस्या भएको गुनासो गरेका छन् । रासस