काठमाडौं – प्रदेश नम्बर पाँचका सांसद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । भेटवार्तामा अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरिएको छ ।


ADVERTISEMENT


दाङ क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य मेटमणि चौधरीले अर्थमन्त्रालयले सक्छ भने बजेटलाई करेक्सन गर्नुपर्छ, यदि त्यसो गर्न सकेन भने अर्थमन्त्री परिवर्तन हुनुपर्ने बताए । उनले भने, ‘अहिलेको बजेटले जनता खुसी छैनन् । जनतालाई खुसी बनाउन जनताको माग सम्बोधन गर्न सक्नुपर्छ । अर्थमन्त्रीले जनताको पक्षमा बजेट ल्याउन सकेनन् ।’ ‘सरकारलाई कमजोर बनाउँदैछन् भने उनी किन अर्थमन्त्री बन्ने ?’ सांसद चौधरीले प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरे ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री खतिवडाको राजीनामाबारे केही नबोलेको बताउँदै सांसद चौधरीले भने, ‘प्रधानमन्त्रीजीको बाध्यता थियो होला ।’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उनले भने, ‘सरकारले गति लिने, अगाडि बढ्ने र कार्यक्रमहरुको योजना बनाइसकेको र टुंगोमा पुर्याउने काम भइसकेको छ ।’

भेटमा प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि वृद्वा भत्तादेखि सामाजिक भत्ता बढाउने जनाएका छन् । ‘यो साल जे भइसक्यो, अर्को वर्षदेखि राम्रो गर्नेछु ।’ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै, भेटवार्तामा देशलाई कसरी गति दिन सकिन्छ, र खासगरी प्रदेश नम्बर पाँचलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा सदस्य हिराचन्द्र विष्टले जानकारी दिए ।

‘विगतको सरकारले हेर्दाखेरी देशलाई खोक्रो बनाएको थियो । यो देखिन्छ पनि,’ उनले भने, ‘स्थानीय निकायदेखि प्रदेश÷प्रतिनिधिसभासम्म हामी नयाँ संरचानाले अघि बढिरहेका छौं । त्यसकारण केही समय लाग्छ । त्यसपछि मुलुक नयाँ ढंगले अघि बढ्छ । यो सरकारले देश, जनता र राष्ट्रको पक्षमा काम गर्छ ।’

प्रधानमन्त्रीले पनि यस विषयलाई गम्भिर भएर सोचेको उनले बताए । भेटमा बाटोघाटो अवारेध भएका कुराहरुलाई पनि जोड दिएका उनले बताए । प्रदेशसभा सदस्य सोमप्रसाद पाण्डेले भने, ‘हामीले जुन आश गरेर प्रधानमन्त्रीलाई भेटेका थियौं, त्यो आश चाहिँ पुरा हुने खालको हामीले पाएका छौं ।’ उनले भने, ‘प्रधानमन्त्रीजी पनि त्यसमा चिन्तित हुनुहुन्छ ।’