काठमाडौं– मंसिरभित्र १२ औं महाधिवेशन गर्ने तयारी गरेको नेपाल विद्यार्थी संघभित्र उमेर हदको विषयमा पुनः बहस हुन थालेको छ । दुई वर्षअघि ११ औं महाधिवेशनले अर्को महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT


३२ वर्ष कटेकाले नेविसंघमा उम्मेद्वार हुन नपाउने विधानत उल्लेख छ । नेविसंघको वर्तमान सभापति नैनसिंह महर नेतृत्वको कार्यकाल भदौ २ मा सकिँदैछ ।


ADVERTISEMENT

# # #


विधानत अधिवेशन गराउनका लागि तीन महिना कार्यकाल थप गर्न सकिन्छ । महरको कार्यकालको अन्तिमतिर पुनः उमेर हदको विषय बहसमा आएको हो। उमेर हद नै हटाउनुपर्ने तथा उमेर हद घटाउनु पर्ने बहस भइरहेको छ ।

‘उमेर हद फुकुवा गर्नुपर्छ भन्ने माग आइरहेको छ’, नेविसंघ सभापति महरले भने, ‘१२ औं महाधिवेशनदेखि ३२ वर्षे उमेर हद लाग्ने भन्ने छ ।’

महर भने उमेर हदको विषयमा धेरै चर्चा गरिराख्नु आवश्यक नहुने बताएका छन् । उनले उमेरको हकमा ३२ बर्ष पुरा भएका साथीहरुको योगदान दिदैं पार्टीले उचित जिम्मेवारी दिनुपर्ने र नेबि संघ पुरानो र सबैको एकताले अघी बढेको संगठन भएकाले सबैको भावनालाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्ने उनले बताएका छन् । उनले विधानको कुरा विधानसभाबाट सबैलाई चित्त बुझ्ने तरिकाबाट टुङ्गो लगाउनु पर्ने बताएका छन् ।  विधानअनुसार नै नेविसंघ चल्ने र साथीहरूसँग सल्लाह गरेर महाधिवेशन सफल बनाउन लागिरहेको बताए  ।

विधानअनुसार नै उमेर हद लागू गर्दा पनि लामो समयदेखि संगठनमा काम गर्दै आएका साथीहरू छुट्न सक्ने तर्क उनले राखे । ‘उमेर हद हटाउनुपर्छ भन्ने माग पनि छ, घटाउनुपर्छ या फुकुवा गर्नुपर्छ भन्ने पनि सुनिन्छ’, उनले भने, ‘अब महाधिवेशनका बेला छलफल हुन्छ ।’

विधानमा भएको व्यवस्था परिमार्जन विधान वा विशेष महाधिवेशन गरेर तथा कहिलेकाहीँ पार्टीले समन्वय गरेर पनि गर्न सक्छ । तत्काल विधान वा विशेष महाधिवेशन हुनुभन्दा पनि महाधिवेशन नै गर्नुपर्ने सभापति महरले बताए ।

‘१२ औं महाधिवेशनको मिति र स्थान तय गरौं। महाधिवेशनकै बन्द सत्रमा उमेर हदबारे के गर्ने भन्ने विषयमा फेरि छलफल गरौंला’, उनले भने ।

महाधिवेशन हुने सुनिश्चिततासहित कांग्रेसले नेविसंघलाई भदौ २ गतेसम्म कार्ययोजना पेश गर्न यसअघि नै निर्देशन दिइसकेको छ । सबै पक्षसँग छलफल गरी महाधिवेशन तय गर्न सक्रिय भूमिकामा क्रियाशील रहेको महरले बताए।

महामन्त्री कुन्दनराज काफ्ले समूहले पनि उमेर हदमा भन्दा विधान अनुसार नै महाधिवेशनको मिति तय गर्नुपर्नेमा जोड दिँदै आएको छ । केन्द्रीय सदस्य सुशील भट्टले उमेर हद घटाउँदा संगठनलाई राम्रो हुने प्रतिक्रिया दिए ।

‘नेविसंघ विद्यार्थीको संगठन हो । विद्यार्थीहरूले नै यसको नेतृत्व गर्दा संगठन चुस्तदुरुस्त हुन्छ’, उनले भने, ‘उमेर हद कति लागू गर्ने बहसमा अल्झिन भएन, पहिले महाधिवेशन सुनिश्चित गर्न लागौं ।’

सभापति महर इतरका समूह विधानमा भएको ३२ वर्षे उमेर हदलाई घटाएर २६ वर्ष बनाउनुपर्नेमा छन् । नेविसंघको वर्तमान कार्यसमिति अधिकांश विधानले तोकेको उमेर कटिसकेका छन् ।