काठमाडौँ– देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT

# # #


सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार बन्न नसक्दा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा हुन नसक्ने बताउँदै सार्वजनिक पदका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र यो कानूनी रुपमा नै व्यवस्था गर्नुपर्ने भनाइ राखेका छन् ।

सांसद भरतकुमार शाहले निर्माणाधीन गौतम बुद्ध विमानस्थल निर्माणमा मुख्य योगदान पुर्याएका आयोजना प्रमुखको सरुवा गरिएकामा आपत्ति प्रकट गरेका छन् । उनले आगामी १० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलको प्रमुख सरुवा गरेर आयोजनालाई पछाडि धकेल्न लागिएको त होइन भन्ने प्रश्न पनि गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिन पहिले गौतमबुद्ध विमानस्थलका आयोजना प्रमुख ओम शर्मालाई निजगढ विमानस्थलमा सरुवा गरेको थियो । सांसद शाहले विमानस्थल निर्माण सकिएपछि आयोजना प्रमुखलाई सरुवा गर्दा हुनेमा अहिले नै गरिनाले आशङ्का जन्माएको उल्लेख गरेका छन् ।

कर बोझ
सांसद पम्फा भुसाल र दुर्गा पौडेलले देशव्यापी रुपमा अनावश्यक करको बोझ बढेका कारण जनताले दुःख पाएको भनी गुनासो गरेकी छन् । करको दायराभित्र गरीब परेका छन् भन्दै उनीहरुले कुन निकायले कस्तो कर लगाउने भन्नेमा स्पष्ट निर्देशन दिन आग्रह गरेकी छन् ।

सांसद पुष्पा भुसालले पनि स्वेच्छिक रुपमा तिर्नुपर्ने करलाई जबर्जस्ती बढाइएको र साना व्यवसाय गर्नेलाई समेत कर लगाएर पेशाबाट विस्थापित हुने अवस्था आएको भन्दै आपत्ति प्रकट गरेकी छन् ।

सांसद उमाकान्त चौधरीले गाउँगाउँमा सिंहदरबारको नारा लगाएर निर्वाचनमा सफलता हासिल गरिए पनि पछिल्लो समयमा करका कारण गाउँमा ‘सिंह’ मात्रै आएको तर ‘दरबार’ नआएको भन्दै गुनासो बढेको बताएका छन् । सांसद प्रमोद साहले पेट्रोलियम पदार्थमा पटक पटक मूल्यवृद्धि भएका कारण नागरिकको दैनिक जनजीवन प्रभावित भएकामा आपत्ति जनाएका छन् ।

बाढीपहिराबाट मार
सांसद नारायणप्रसाद खतिवडाले केही दिन पहिलेको बाढीपहिराका कारण पासाङल्हामु राजमार्ग प्रभावित भएको र यातायात आवागमनमा समेत प्रभावित भएको बताउँदै राजमार्ग पुनःनिर्माणमा ध्यान दिन ध्यानाकर्षण गराएका छन् । उनले भूकम्पले भत्काएका नुवाकोटका पुरातात्विक सम्पदाको पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति पनि आपत्ति जनाए ।

सांसद लालबहादुर थापाले वर्षाका कारण जमीन भासिने, पहिरो आउनेजस्ता प्राकृतिक प्रकोपका कारण बाजुरा, बझाङलगायत जिल्लाका बासिन्दा प्रभावित भएको, पीडितले राहत नपाएको र खुला आकाशमा रात काट्नुपर्ने अवस्था आएको छ भन्दै राहतको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

सभामुखको ध्यानाकर्षण
सभामुख कृष्णबहादुर महराले कर तथा कृषकसँग सम्बन्धित विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले सदन र सरकारको पटक पटक ध्यानाकर्षण गराएपछि उनले आफ्नो पनि ध्यानाकर्षण भएको उल्लेख गरेका थिए । रासस