रोल्पा– वर्षात्का कारण पहिरो जाँदा रोल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएसँगै जिल्लाका बासिन्दाले आवतजावतमा सकस व्यहोर्दै आएका छन् । इञ्जिनियरिङ डिजाइनविना उपभोक्ता समितिले डोजर प्रयोग गरेर ती सडक खनिएकाले वर्षात्को सामान्य झरीमा पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको बताइएको छ । ठाउँठाउँको पहिराले आफूहरु दुई दिनसम्मको पैदलयात्रा गरी सदरमुकामबाट थवाङ पुगेको बलभद्र मावि थवाङका प्रधानाध्यापक कुलबहादुर वलीले बताए । ‘समय समयमा झर्ने पहिरोका कारण त्रासपूर्ण अवस्थामा यात्रा गर्नुपर्छ’, उनले भने ।


ADVERTISEMENT


भत्केका सडक तत्काल बन्नसक्ने अवस्था देखिँदैन थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताए । ‘सडक सफा गरेर थवाङसम्म गाडी पु¥याउन दुई महीना बढी लाग्न सक्छ’, घर्तीले भने । मौसममा सुधार नआउँदासम्म सडक मर्मतको सम्भावना छैन । मध्य जेठदेखि थवाङका बासिन्दा पैदलयात्रा गर्न बाध्य भएको अध्यक्ष घर्तीले बताए । तिहारअघि यातायात सञ्चालन हुनसक्ने अवस्था नभएको बताइएको छ ।


ADVERTISEMENT

# # #


पहिरोका कारण जिल्ला सदरमुकाम लिवाङ, दाङ तथा काठमाडौँबाट शहीद मार्ग हुँदै उत्तरी रोल्पाको थवाङ, मिरुल, कुरेली, इरिवाङ र रुकुमको चुनवाङतर्फ जाने कुनै पनि सवारी साधन चल्न नसक्दा हजारौँ यात्रु बिचल्लीमा परेका छन् । शहीदमार्ग सडक आयोजनाद्वारा सो सडक स्तरोन्नति भइरहेको छ । पहिरो झरेको स्थानमा यथाशीघ्र मर्मत गरी सवारी आवागमनलाई नियमित गर्न डोजरको प्रयोग गर्न खोजिएपनि माथिबाट पहिरो झर्नेक्रम नरोकिएकाले मर्मतमा कठिनाइ भएको आयोजनाले जनाएको छ ।

लामो समयसम्म सडक अवरुद्ध हुँदा आफूहरु पैदलयात्रा गर्न बाध्य भएको थवाङकी स्मृति रोकाले बताइन् । । ‘वर्षमा झण्डै ६ महिना पैदल हिँड्नुपर्छ,’ रोकाले बताइन् । महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा चर्चा कमाएको थवाङमा आन्तरिक र बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । तर सडकका कारण पर्यटकसमेत प्रभावित हुँदै आएको एक स्थानीयले बताए । ‘यातायातको असहजताका कारण थवाङमा उत्पादित कृषि उपज सहजै बजार पुर्याउन सकिएको छैन’, उनले भने ।

सडक अवरुद्ध हँुदा ज्येष्ठ नागरिक महिला तथा बालबालिका बढीमात्रामा प्रभावित हुँदै आएका छन् । सदरमुकामबाट थवाङ फर्कंदा बिरामी बच्चालाई काँधमा बोकेर दुई दिनसम्म कष्टपूर्ण यात्रा गरेको थवाङकी एक महिलाले बताइन् ।

घना जङ्गल भएर पैदल हिँड्नुपर्ने सो सडकमा जुकाको टोकाइ तथा समय समयमा झर्ने पहिरोको जोखिममा यात्रा गर्नुपर्ने बाध्यता छ । अविरल वर्षाले जिल्लाका दर्जनौँ भित्री सडकसमेत पहिरो खसेर अवरुद्ध भएका छन् । सदरमुकाम लिवाङबाट ह्वामा, धवाङ, जङ्कोट, कोर्चवाङ, जेद्वाङतर्फ चल्ने सडक अवरुद्ध भएको यातायात व्यवसायी नन्दबहादुर पुनले जानकारी दिए । “सडक अवरुद्ध हुँदा गाडी थन्किरहेका छन्”, घर्तीले भने ।

जिल्लाका अधिकांश भित्री सडक छ महिनामात्रै नियमित गाडी चल्ने भएकाले रोल्पाका यातायात व्यवसायी मर्कामा परेको अर्का व्यवसायी खिमबहादुर केसी बताउछन् । गाडीको किस्ता तिर्न हम्मेहम्मे परेको केसीको दाबी छ । पूर्वी रोल्पाका विभिन्न स्थानमा चल्ने सवारी साधनसमेत अवरुद्ध भएको बताइएको छ ।

सुलीचौरबाट गाम, फगाम तथा थवाङ जाने सडकसमेत अवरुद्ध भएकाले यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या भइरहेको जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासन इञ्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिए ।

जिल्लामा महङ्गो भाडा तिर्दासमेत नियमित यातायात सेवा लिन नसकेको स्थानीयवासीको गुनासो छ । सदरमुकामबाट दाङ, बुटवल, नेपालगञ्ज र काठमाडाँैसम्म मात्रै नियमित गाडी सञ्चालन हुँदै आएको छ । कालोपत्र भएका कारण ती सडकमा पहिरोको खासै समस्या नभएको बताइएको छ । रासस