काठमाडौँ— चार वर्षअघि क्यानेडियन जेट विमान (बमबार्डियर सिआरजे २००) ल्याएर नेपाली आकासमा उडान थालेको सौर्य एयरलाइन्स बिक्री भएको छ ।


ADVERTISEMENT


५० सिट क्षमताका साढे १५ र साढे १७ वर्ष पूराना दुईटा सीआरजे विमानबाट काठमाडौंदेखि सुगम रुटहरु (भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगंज र धनगढी) मा उडान थालेको यो कम्पनी चीनमा बसेर व्यापार गर्दै आएका श्याम अधिकारीको समूहले ६४ करोड रुपैयाँमा बिक्री गरेका हुन् ।


ADVERTISEMENT

# # #


आजदेखी सौर्य एयरलाइन्स नयाँ व्यवस्थापनले लिएको छ,’ कम्पनीका मार्केटिङ प्रमुख मुकेश खनालले भने, ‘कम्पनीको कूल मूल्यांकन ६४ करोड हाराहारी थियो यसभित्र ५१ करोड हाराहारी बैंकको ऋण समेटिएको छ ।’

खनालका अनुसार, अबको एक महिनामा पुरानो व्यवस्थापनले कम्पनी हस्तान्तरण गरिसक्ने छ । यो कम्पनीमा २ सय हाराहारी कर्मचारी छन् । यसअघि यो एयरलाइन्स झापाका सुपारी/लसुन तथा बालुवा व्यापारी दिपक पोखरेलको थियो । एयरलाइन्सका अनुसार, यसमा व्यापारी पोखरेलको ८० प्रतिशत हाराहारी शेयर थियो ।

उनीबाहेक थप १३ जना अन्य व्यापारी यसका साना लगानीकर्ता थिए । चीनमा बसेर व्यापार गर्दै आएका प्यूठानबासी अधिकारीले यो एयरलाइन्स खरिद गर्नुअघि सीता एयरका लगानीकर्ताले यो एयरलाइन्स खरिद गर्न चाहेका थिए ।

‘एक/दुई राउन्ड छलफल भएको थियो । नेगोसिएसनको अन्तिम चरणमा हाम्रो व्यवस्थापन सन्तुष्ट हुन नसकेपछी बिजनेश डिल हुन सकेन,’ सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम राज आचार्यले भने ।

सौर्यसँग भएका दुईटा विमानको इन्जिन र ल्याण्डिङ्ग गियर आवर (लाइफ साइकल) अत्याधिक न्यून छ । नयाँ व्यवस्थापनले ६४ करोडबाहेक थप यी दुई विमानको इन्जिन र ल्याण्डिङ्ग गियर मर्मतमा करोडौं रुपैया लगानी गर्नुपर्ने छ ।

आर्थिक अभावकै कारणडेढमहिनादेखि बन्द एयरलाइन्सले बुधबारदेखि पुनस् उडान सुचारु गरेको खनालले बताए । उनका अनुसार, नयाँ सञ्चालकले यी दुवै विमानलाई चाडै फेज–आउट गरी दशै अघि नै सीआरजे–७०० सिरिजका विमान थप्ने घोषणा गरेको छ । यसबाहेक हेलिकप्टर उडान पनि थाल्ने भनेको छ ।