भीमदत्तनगर– निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानबिन गर्न केन्द्र सरकारद्वारा गठन गरी पठाइएको समतिले शुक्रबारबाटै घटनाको छानबिन सुरू गरेको छ ।


ADVERTISEMENT


केन्द्रबाट खटिएको गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिको टोली दिउँसो २ बजे महेन्द्रनगर आइपुगेको थियो । टोलीले लगत्तै सरूवामा परेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमार खड्काको बिदाइ गर्नुअघि उनीसँग एक घण्टाजति कुराकानी गरेको थियो । त्यसपछि टोलीले नयाँ सिडिआको पदभार ग्रहण गरेका तारानाथ अधिकारीसँग पनि छलफल गर्यो ।


ADVERTISEMENT

# # #


सुरक्षा निकायका अधिकारीसँग समेत छलफल गरेर छानबिन टोलीले अपराह्न चार बजेतिर स्थानीय पत्रकारहरूको भेला बोलाएको थियो । पत्रकारसँग कुरा गर्दै टोलीका संयोजक मैनालीले घटनाको पुनः शून्यबाट अनुसन्धान गरिने बताएका थिए । उनले यसअघि अनुसन्धानमा खटिएका तर चित्तबुझ्दो जवाफ दिन नसकेका प्रहरी अधिकारीमाथि पनि छानबिन हुने जानकारी दिँए ।

‘हामी पहिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीमाथि पनि छानबिनका थाल्छौं,’ सहसचिव एवं संयोजक मैनालीले भने, ‘पुराना केही दस्ताबेज नहेरीकन हामीले शून्यबाट अनुसन्धान अगाडि बढाउँछौँ ।’ उनले सबै घटनाको सुरूदेखि नै छानबिन हुने र त्यो निष्पक्ष हुने आस्वासन दिएका छन् । दोषीलार्इ पत्ता लगाएरै छोड्ने र निर्दाष कोही पनि नफस्ने उनको भनाइ थियो ।

१५ दिनको समय लिएर यहाँ आएको टोलीले छानबिनमा सहयोग गर्न र संयम अपनाउन समेत आग्रह गरेको छ । यहाँका राजनीतिक दल र नागरिक समाजसँग छलफल पनि टोलीले जारी राखेको छ ।