वासिङ्टन– उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ । वासिङ्टनमा दुबै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक पुगेको बताइएको छ ।


ADVERTISEMENT


मेक्सिकोका अर्थसचिव इल्डेफोन्सो गुआजार्डोले आठ घण्टासम्म चलेको छलफल निकै सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिएका छन् । आइतबारको वार्तामा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी रहेका थिए ।


ADVERTISEMENT

# # #


गुआजार्डोका अनुसार, वार्ता सोमबार बिहानै शुरु हुनेछ । वार्तामा द्विपक्षीय विषयमा सहमति जुटाउने तथा नाफ्टाको तेस्रो साझेदार मुलुक क्यानडासँग छलफल गरी नयाँ सम्झौतामा हस्ताक्षर गरिनेछ ।

सचिव गुआजार्डो तथा मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगारेले दुई देशबीचका मुख्य व्यापारिक समस्या सुल्झाउन एक महिनाभन्दा बढीदेखि अमेरिकी व्यापार प्रतिनिधिसँग वार्ता गर्न पटकपटक वासिङ्टनको भ्रमण गरिसकेका छन् । उनीहरु आगामी अगष्ट महिनाअघि नै सवारी साधनको बजार समेतका विषयमा ठोस निष्कर्षमा पुग्ने प्रयास गरिरहेका छन् ।

मेक्सिकोमा जुलाई १ मा भएको राष्ट्रपतीय चुनावले पनि मे महिनाका लागि तोकिएको वार्तामा असर परेको थियो ।

अमेरिका, क्यानडा र मेक्सिको सम्मिलित नाफ्टाका बारेमा राष्ट्रपति ट्रम्पले निरन्तर आलोचना गरिरहेका छन् । अमेरिकाका लागि “घातक” रहेको भन्दै ट्रम्पले सम्झौतामा आवश्यक संशोधन नभए नाफ्टाबाट अलग्गिने चेतावनी दिएका छन् ।

तर २५ वर्ष पुरानो यस सन्धिका विषयमा नयाँ परामर्श भइरहेको छ, र अमेरिका तथा मेक्सिको यस सम्झौतालाई अद्यावधिक गर्नेमा लगभग सहमति नजिक पुगेका छन् । अमेरिका–मेक्सिको बीचको सवारी साधन उद्योगसम्बन्धी नियममा के कस्तो सहमति हुन्छ भनी पर्खेर बसेको क्यानडालाई पनि वार्तामा आमन्त्रण गर्ने योजना छ ।

अमेरिका र मेक्सिकोका वार्ताकारहरु राष्ट्रपति एनरिक पेना नीटोले डिसेम्बर १ मा सत्ता छाड्नुअगावै सम्झौतामा पुग्न प्रयासरत छन् । मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस म्यानुअल लोपेज ओब्राडोर निर्वाचित भइसकेका छन् र उनले आगामी डिसेम्बर १ तारिखदेखि सत्ता सम्हाल्ने भएका छन् । नयाँ सम्झौतालाई कार्यरुप दिन अमेरिकी संसद कङ्ग्रेसलाई ९० दिनको अग्रीम समय दिनु पर्दछ ।

क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले अमेरिका–मेक्सिकोबीचको वार्ताको प्रगतिबाट उत्साहित भएको र दुवै मुलुकबीचको द्विपक्षीय वार्ता सकिएलगत्तै क्यानडा सहभागी हुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले शनिबार बिहान गरेको एक ट्वीटमा वार्ता सहमति नजिक पुगेको बताएका छन् ।

“मेक्सिको सँगको हाम्रो सम्बन्ध अत्यन्त सकारात्मक रुपमा अघि बढेको छ,” ट्रम्पले लेखेका छन् । “मेक्सिकोसँग ठूलो व्यापारिक सम्झौता चाँडै हुँदैछ ।” रासस