फलेबास, पर्वत– विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य भएका छन् ।


ADVERTISEMENT


रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य भएका हुन् । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उनलाई प्रहरीको गोली लागेको थियो । उनी सँगैका आठ व्यक्तिले गोली लागेपछि ज्यान गुमाएका थिए । सालिकमाथि चढेका ९ जनामध्ये खड्का मात्र जीवित रहे। प्रहरीले उनलाई घाइते अवस्थामा पनि हनुमानढोका लगेर यातना दिएको थियो। त्यसक्रममा उनको घाउमा नून–खुर्सानी हालिएको थियो। “मेरो जिब्रो काटिदिए, बिजुलीको हीटरमा पिसाब फेर्न लगाउने, मुखभित्र तार छिराएर करेन्ट लगाउने जस्ता यातना दिए”, उनी भन्छन्, “दुई दिनपछि विष्णुमतीको पुलमुनि फ्याँकिदिएछन्।”


ADVERTISEMENT

# # #


खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । घाइते भएर पनि कडा सजाय भोग्न बाध्य खड्काले अहिले पर्वतलगायत विभिन्न स्थानमा भिख माग्दै हिँड्न बाध्य भएको बताए । खड्काको सोही क्रममा जिब्रोसमेत काटिएको थियो ।

उपचारका लागि अमेरिकाको पाइलट हस्पिटलमा दुई वर्षसम्म राखेपनि स्वास्थ्य अवस्थामा सामान्य सुधार मात्र भएपछि उनी घर फर्किएका थिए । उपचारका लागि राज्यले रु ५० लाख खर्चेको थियो भने उनले काठमाडौँमा रहेको आफ्नो घर रु ४० लाखमा बिक्री गरेका थिए। काठमाडौँमा भएको एउटा घर बिक्रीपछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन । सानैमा आमाबुबा गुमाएका उनले बिहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाए ।

उनकी श्रीमतीको २०४५ सालको भूकम्पमा परी निधन भएको थियो । अहिले कृत्रिम गोडाको सहायताले उनी हिँड्डुल गर्छन् । सामान्य हिँड्डुल गर्न सकेपनि काम गर्नसक्ने शारीरिक अवस्था उनको छैन । उनले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आफू सधैँ पीडित नै बनिरहेको दुखेसो गरे ।

“जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्याङ्कन राज्य र सरकारले गर्न सकेनन्”, उनले गहभरि आँसु पार्दै भने, “अहिले भिख माग्नुपर्ने अवस्थामा हिँडिरहेको छु ।”

खड्काले पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सहयोगमा आरआर क्याम्पसबाट बिएड सम्मको अध्ययन पूरा गरे। आन्दोलनकै कारण र पीडाकै कारण खड्काको मानसिक अवस्थासमेत बिग्रिदै गएको छ । उनले औषधि सेवन गर्ने पैसासमेत आफूसँग नभएको गुनासो गरे । लक्ष्मीप्रसाद सापकोटा रासस