वीरेन्द्रनगर– केही वर्षअघिसम्म दुई–चार जनाको जमातमा उभिएर बोल्न उनलाई संकोच लाग्थ्यो । महिला, त्यसमा पनि दलित समुदायको । बोल्दा गलत भइहाल्ने हो कि भन्ने चिन्ता उनलाई भइरहन्थ्यो । एक वर्षयतादेखि उनले कार्यपालिका सदस्य भएर सिंगो नगरपालिका नै हाँकिरहेकी छन् । नगरका मुख्य योजना बनाउने काममा पनि अग्रपंक्तिमै छिन् उनी । गुुुुर्भाकोट नगरपालिकाको कार्यपालिका सदस्य भएपछि पैंतीस वर्षीया सरस्वती नेपाली अहिले ढुक्कसँग बोल्न मात्र होइन सजिलैसँग सभामा पनि आफ्ना विचार राख्न सक्छिन् ।


ADVERTISEMENT


अहिले उनको हस्ताक्षर बिना योजना नै बन्दैन । त्यसैले गाउँका पुरुषहरुले पनि उनको सरसल्लाह लिन थालेका छन् । “नीति निर्माण र योजना बनाउने ठाउँमा पुुुुगेपछि सबैले हेर्ने दृष्टिकोणमा फरक देखेकी छुुुु,” उनले भनिन् – “दलित भनी घृणा गर्नेहरु अहिले नमस्कार भन्न थालेका छन् ।”


ADVERTISEMENT

# # #


श्रीमती तथा बुहारीको नातामा सीमित परिचय वडाको सदस्यसम्म पुग्न कम्ता संघर्ष गर्नुपरेन सिम्ता गाउँपालिकाका नम्रता लोहारलाई । दिउँसो बैठक हुने दिनमा बिहानै उठेर त कहिले राति अबेरसम्म तयारी सकेर भएपनि उनी समय निकाल्छिन् । घरपरिवारको सहयोगले कामलाई निरन्तरता दिँदै गएपछि अहिले सफलता मिलेको उनी बताउँछिन् । उनको काम देखेर पूरै परिवार खुशी छन् । घरायसी अथवा मेलापातको काममा मात्र घरबाहिर निस्कने नम्रता अहिले विभिन्न योजनाका काम लिएर जाने गर्छिन् ।

“पहिले हाम्रा अगाडि नपत्याएर होच्याउने र छाडा बोल्ने पुरुषहरु अहिले राम्रोसँग बोल्नुहुन्छ,” उनी भन्छिन् – “हामीलाई नपत्याउने व्यक्तिहरुले हामीलाई नमस्कार भन्न थालेका छन् ।” त्यतिमात्र होइन अहिले अन्य जातिका व्यक्तिहरु आफूसँग सँगै बसेर खाना खान थालेकामा उनी खुशी छिन् ।

काखमा दुधेबच्चा च्याप्दै सोही गाउँपालिकाकी राधिका नेपाली पनि वडाका बैठकमा सहभागी हुन थालेकी छन् । उनी वडाका लागि आवश्यक पर्ने योजनाहरुबारे निर्णय लिने छलफलहरुमा पनि सहभागी हुन्छिन् । बुहारीको परिचयमा सीमित उनी विभिन्न कार्यक्रममा वडा सदस्यको परिचय दिन पाउँदा खुशीको अनुभव गर्छिन् । त्यसमाथि पनि गाउँका पहिले दलित भनेर हेयको दृष्टिले हेर्ने पुरुषहरुले नै नमस्कार गर्दा उनको मन गद्गद् हुन्छ ।

वर्षौँसम्म पुरुषहरुले नेतृत्व गरेको पदमा काम गर्न सकिँदैन कि भन्ने त्रास थियो तर पनि हिम्मत नहारेर पद सम्हाल्दैआएको उनी बताउँछिन् । घरायसी सानोतिनो काममा निर्णय नगरेकी उनलाई एक्कासी पद सम्हाल्न चुनौती थियो । महिला दिदीबहिनीले साथ दिएपछि सफल भएको उनको भनाइ छ । अझै अगाडि बढेर पछि परेका दलित महिलाको हकअधिकार र उनीहरुलाई अगाडि बढाउन लागिपर्ने उनको चाहना छ । नेतृत्वमा आएपछि आफूहरुमाथि पहिलेको जस्तो छुवाछूत र विभेद कम भएको उनी ठान्छिन् ।

“हामी कमजोर र नेतृत्व तहमा नभएका कारण नै हामीमाथि छुवाछूत र विभेद गरिएको रहेछ,” उनले भनिन् । निर्णायक पदमा पुगेपछि समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको वीरेन्द्रनगर नगरपालिकाका वडा सदस्य बुद्धिसरा विकको अनुभव छ । “नेतृत्व तहमा पुगेपछि मसँग आशा गर्नेहरु धेरै छन्,” उनले भनिन् – “त्यसैले गर्दा पनि मप्रतिको उनीहरुको व्यवहारमा फरक छ । अहिले सबैको अगाडि बोल्दा सबैले कदर गर्ने गरेका छन् ।”

दलित महिला नेतृत्वमा आएपछि उनीहरुमाथि हुने छुवाछूत जस्ता विभेद हटेको अनुभव गरेका यी प्रतिनिधि महिला हुन् । नेतृत्वमा पुगेपछि आफूहरुमाथि समाजले आदर गर्नुका साथै छुवाछूत जस्ता विभेदहरु हटेको अनुभव जिल्लाका नौ वटा स्थानीय तहका ९९ वटा वडामा नेतृत्व गरेका महिला वडा सदस्यहरुको अनुभव छ । पहिले महिला त्यसमाथि पनि दलित भनेपछि कुनै पनि निकायमा उनीहरुको वास्तै हुँदैन्थ्यो । तर, अहिले दलित सदस्यको घरघरमा पुगेर भए पनि योजनाको बारेमा पुरुष सहकर्मीहरु सरसल्लाह लिन पुग्छन् । यसरी घरमा आएकाहरुसँगै बसेर खाना खान थालेको वडा सदस्य राधिका बताउँछिन् । उनले भनिन् – ‘पहिले खाना खानु भन्दा बहाना बनाएर जान्थे तर, अहिले सँगै बसेर खान थालेका छन् ।”

दलित महिलामाथि हुने विभेदमा विस्तारै कमी आएको लेकवेसी नगरपालिकाका नगर प्रमुख गगनसिंह सुनारले बताउँछन् । नेतृत्वमा आएपछि दलित महिलाहरु सशक्त हुनाको साथै उनीहरुको कदर पनि हुन थालेको सुनारले बताए ।
अहिले जिल्लाका ९९ वडामा १९९ दलित महिला जनप्रतिनिधि छन् ।

जनप्रतिनिधि मात्र होइन समुदायको अन्य स्थानीय संरचना तथा निकायहरुको नेतृत्व गर्दै आएका दलित महिलाहरुमाथि गरिने व्यवहारमा पनि परिवर्तन आएको छ । त्यसकै प्रतिनिधि पात्र छिन् गुर्भाकोट नपा वडा नं ३ की मुसी बाँठा । उनी गाउँकी स्वयंसेविका हुन्। गाउँमा स्वास्थ्य समस्या भएमा, गर्भवती भएमा तथा परिवार नियोजनको सल्लाह लिनुपरेमा गाउँभरिका मानिस उहाँको घर जान्छन् ।

नेतृत्वको अवसरले गर्दा उनीहरुको आत्मबल बढेको प्रावि विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षक चन्द्रावती खत्रीले बताइन् । घरपरिवारको काममा मात्र सीमित महिलालाई घरबाहिरको काममा पनि सहभागी गराए उनीहरुमा आत्मविश्वास बढ्नाको साथै समस्या समाधान गर्ने क्षमता पनि बढ्छ ।

अझै पनि दलितहरुमाथि हुने विभेदका घटनाहरु उस्तै भएपनि नेतृत्व तहमा पुगेका महिलाहरुमाथि छुवाछूतको व्यवहार नभएको गुर्भाकोट नपाका उपप्रमुख मैना बिक बताउँछिन् । कानूनको डरले गर्दा पनि पछिल्लो समय दलितमाथि हुने विभेदका घटनामा केही कमी आएको उपप्रमुख मैनाले बताइन् । दलित महिला नेतृत्वमा पुगेपछि पछिल्लो समय दलित महिलाको हकहितका लागि योजनाको साथै कार्यक्रमहरु पनि सञ्चालनमा आएका छन् । – लक्ष्मी भण्डारी/रासस