काठमाठौँ– मलेसियामा जारी एशिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपालल आफ्नो पहिलो खेलमा ओमनसंग ७ विकेटले पराजित भएको छ । नेपाली बलर चल्न नसक्दा नेपालले हार बेहोर्न पुगेको हो ।


ADVERTISEMENT


मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रनको मध्यम स्कोर खडा गरेको थियो । २२२ रनको लक्ष्य पच्छ्याएको ओमनले ४८ ओभरमा ३ विकेट मात्र गुमाएर २२४ रन पूरा गरेपछि नेपालले आफ्नो पहिलो खेलमा हार ब्यहोरेको छ । अन्तिम ओभरमा वसन्त रेग्मीले दुई छक्का र एक चौकासहित १९ रन खर्चिएपछि ओमानले १२ बल खेल्नुअघि नै लक्ष्य पूरा गर्यो ।


ADVERTISEMENT

# # #


ओमनलाई जित दिलाउन खवार अलीले उत्कृष्ट पारी खेले ।

अलीले तेस्रो विकेटका लागि वैभव वाटेगओंकरसँग ७६ रनको साझेदारी गरे । यससँगै खेल ओमानको पक्षमा गएको थियो । ३६.४ ओभरमा वैभव रन आउट भए । उनले व्यक्तिगत ४१ रन बनाए ।

तर, अलीले चौथो विकेटका लागि जिशन मक्सुदसँग अविजित ७७ रनको साझेदारी गर्दै ओमानलाई जित दिलाए । अली ८४ रन अविजित रहे भने मक्सुद ४५ रनमा नटआउट रहे । जतिन्दर सिंह ३० र अकिब इल्यासले १६ रन बनाए ।

कप्तान पारस खड्काले एक विकेट लिनु बाहेक नेपाली बलरले राम्रो खेल्न सकेनन् । नेपालका लागि वसन्त रेग्मी सबैभन्दा महंगा साबित भए । उनले ९ ओभर बलिङ गरेर ६१ रन खर्चिँदा एउटा पनि विकेट लिन सकेनन् ।

यस्तै क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा धमका मच्चाएर आएका सन्दीपको पनि ओमानका ब्याट्समेनको सामू केही लागेन । उनले १० ओभर बलिङ गर्दा एउटा मडेनसहित २७ रन मात्र खर्चिएपनि एउटा विकेट पनि लिन सकेनन् ।

यता नेपालको इनिङमा सागर पुनले उत्कृष्ट पुनरागमन गरे । उनले २ छक्का र ६ चौकाको मदतमा ८४ बलमा ८३ रन बनाएर लर्खराएको नेपाली ब्याटिङलाई सम्मानजनक स्कोरसम्म पुर्याए । यस्तै ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा आरिफ शेखले ३६ रन प्रहार गरे ।

नवौँ नम्बरमा आएको करण केसीले १० बलमा २६ रन प्रहार गरी उत्कृष्ट फिनिसिङ गरे । जसमा २ छक्का र एक चौका समावेश थिए । शुवास खकुरेल (४), पारस खड्का (८), दीपेन्द्र ऐरी (९) र सोमपाल कामीले ५ रन बनाए ।

ओमानका लागि बिलाल खान, मोहम्मद नादिम, अभय लालचेटाले समान २/२ विकेट लिए ।

अर्को खेलमा युएईले सिंगापुरलाई २१५ रनको विशाल अन्तरले पराजित गर्दा हङकङ मलेसियासंग ३ विकेटले पराजित भएको छ । नेपालले अर्को खेल बिहीबार प्रतियोगिताको दाबेदार मानिएको युएईसंग खेल्नेछ ।