काठमाडौं – चिनियाँ निर्माण कम्पनी थ्री गर्जेजले क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको छ ।


ADVERTISEMENT


बुधबार थ्री गर्जेजका प्रतिनिधिसँग भएको वार्तामा लगानी बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६०० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो । बोर्डका सीईओ महाप्रसाद अधिकारीले परियोजना कार्यान्वयन चरणमा लैजान आवश्यक काम अघि बढाउन आग्रह गरेका थिए ।


ADVERTISEMENT

# # #


तर, थ्री गर्जेजले आयोजना अघि बढाउन मानेन । प्राविधिक, पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तिय रुपमा सम्भाव्य नरहेको उसले बताएको छ ।

थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन र लगानी बोर्डबीच २०६८ सालमै ७५० मेगावाटको पश्चिम सेती बनाउने सहमति भएको थियो । १ खर्ब २० अर्ब लागत अनुमान गरिएको परियोजनामा ७५ प्रतिशत थ्री गर्जेज र २५ प्रतिशत विद्युत प्राधिकरणले लगानी गर्ने सहमति पनि भयो ।

तर, थ्री गर्जेजले विद्युत् खरिद दर बढाउनुपर्ने लगायतका माग राख्दै काम अघि बढाएन । लागत महंगो पर्ने भन्दै थ्री गर्जेजले आयोजना ६०० मेगावाटमा बनाउन प्रस्ताव गर्‍यो ।

तर, तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले त्यसलाई अस्वीकार गर्दै पूरा क्षमतामा बनाउनुपर्ने बताए ।

२५ फागुन २०७४ मा बनेको समितिले भने थ्री गर्जेजसँग भएको सम्झौता रद्द गरेर नेपालले नै बनाउने वा चिनियाँ कम्पनीलाई कम क्षमतामा बनाउन दिने विकल्प दिएको थियो । त्यसअनुसार लगानी बोर्डले थ्री गर्जेजसँग वार्ता गरेको थियो ।

तर, थ्री गर्जेजले थप विषय उठाउँदै आयोजना निर्माण अघि बढाउन मानेन । ‘चिनियाँ कम्पनीको माग फेरि बोर्डमा लैजान्छु’ सीईओ अधिकारीले भनेका छन् ।