गौशाला– कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिन भएकाले आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रशिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ ।


ADVERTISEMENT


बुबाआमालाई आफ्ना सर्वश्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाका केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय बताउँछन् ।


ADVERTISEMENT

# # #


जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको लोहारपट्टी नगरपालिकाको बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवं धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएको स्थानीय हेमशङ्कर यादवले बताएका छन् ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किम्वदन्ती रहेको छ ।

विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढाटाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकोमा अहिले यहाँ कहिले काँही विशेष दिनजस्तै बुबाको मुख हेर्ने वा आमाको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु आउने गरेको स्थानीय रामचन्द्र यादवले बताए ।

आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस आउने गरेको स्थानीय मोती यादवको भनाइ छ ।

बुबा, आमा नभएकाले यस स्थानमा आफ्ना बुबाआमाको सम्झना गर्दै यहाँ आउने गरेको र अन्धाअन्धी स्थानलाई आफ्ना बुबाआमाको सम्झनाको केन्द्र बनाएको स्थानीय वृद्ध वृजकिशोर यादवले बताएका छन् ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखिनै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवं चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो ।

तर सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्वद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

उनीहरुले धार्मिक एवं ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, सम्वद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न माग गरेका छन् । रासस