काठमाडौँ– आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटमा श्रीलंकाले साबिकको बिजेता भारतमाथि शानदार जित हात पारेको छ । बिहिबार राती भएको खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


लण्डनको दि ओभलमा भारतले दिएको ३२२ रनको लक्ष्य श्रीलंकाले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाको जितमा कुशल मेण्डिसले ८९ तथा धनुष्का गुणतिलकाले ७६ रनको योगदान दिए । मात्र ११ रनमा पहिलो विकेट गुमाएको श्रीलंकाका लग मेण्डिस र गुणतिलाकाले दोश्रो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए । यस्तै कप्तान एन्जेलो म्याथ्युजले अविजित ५२ रन जोड्दा कुशल परेराले ४७ रन बनाए । भारतका भुवनेश्वर कुमारले एक विकेट लिए ।


ADVERTISEMENT

# # #


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित ५० ओभरमा ६ विकेट गुमाएर ३२१ रन बनाएको थियो । भारतको उच्च स्कोरमा शिखर धवनको १२५ रनको शतकीय पारी खेले । त्यस्तै रोहित शर्माले ७८ तथा महेन्द्रसिंह धोनीले ६३ रन बनाए । श्रीलंकाका लासिथ मालिङ्गाले दुई विकेट लिए ।

यो जितसँगै समूह ‘बी’ मा रहेको श्रीलंकाले २ खेलबाट २ अंक जोडेको छ । र, श्रीलंका समूहको तेस्रो स्थानमा छ । श्रीलंकाको यो जितसँगै यस समूहबाट चारै टीमको सेमिफाइनल जाने सम्भावना कायमै भएको छ । यस समूहमा भारत, दक्षिण अफ्रीका, श्रीलंका र पाकिस्तानको समान २ – २ अंक छ ।

अब आइतबार भारतले ओभल मैदानमा दक्षिण अफ्रिकाको सामना गर्नेछ भने श्रीलंकाले पाकिस्तानको सामना त्यसको भोलिपल्ट गर्नेछ ।