काठमाडौँ– जल परिवहनसम्बन्धी अध्ययन गर्न नेपाली टोली एक सातापछि भारत जाने भएका छन् । प्रस्तावित जल परिवहनको निर्माण तथा सञ्चालनका लागि जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलबासेको नेतृत्वमा नेपाली टोली भारत जान लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते राजधानीमा आयोजित कार्यक्रममा नेपालमा जलमार्ग सञ्चालनका लागि नेपाली अध्ययन टोली भारत जाने बताएका थिए ।


ADVERTISEMENT


भारतले गङ्गा नदीमा सुरु गर्न लागेको जल परिवहनसम्बन्धी अध्ययन गर्न नेपाली टोली आगामी असोज १ गते भारत जान लागेको अध्ययन टोलीका संयोजक तथा आयोगका सहसचिव बेलबासेले बताएका छन् । उनका अनुसार, सात सदस्यीय उक्त अध्ययन टोलीमा विभिन्न मन्त्रालयका पदाधिकारीहरू सहभागी हुनेछन् ।


ADVERTISEMENT

# # #


‘इनल्यान्ड वाटर–वे अथोरेटी अफ इन्डिया’ को समन्वयमा त्यसतर्फ प्रस्थान गर्न लागेको उक्त टोलीले बनारस र कोलकातास्थित गङ्गा नदीमा जल परिवहनसम्बन्धी अध्ययन गर्ने उनले जानकारी दिएका छन् ।

यस भ्रमणले समुद्रबाट नेपालमा पानीजहाज ल्याउन सकिने सम्भावनाबारे अध्ययन गरिने जानकारी दिंदै सहसचिव बेलबासेले नेपाली टोली फर्केपछि भारतीय टोली नेपाल आउने जानकारी दिए । यसअघि जल यातायात सञ्चालनको सम्भावनाबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ असार ३१ गते काठमाडौँमा नेपाल र भारतबीच सहसचिवस्तरीय दुई दिवसीय छलफल सम्पन्न भएको थियो । नेपालमा जलमार्ग सञ्चालनबारे नेपाल र भारतबीचको यो पहिलो बैठक थियो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दुई पक्षीय छलफल गरी नेपालमा जल यातायात सञ्चालनको कामलाई अगाडि बढाउने गरी सहमति भएको थियो । उक्त सहमतिलाई कार्यान्वयनमा ल्याउने गरी नेपाल भारतबीच द्विपक्षीय छलफल सुरु गरिएको थियो । प्रम ओलीको भारत भ्रमणको बेला हिन्द महासागरबाट नेपालमा पानी जहाज सञ्चालन गर्ने विषयमा दुई मुलुकबीच सहमति भएको थियो । व्यापार तथा पारवहन व्यबस्थाको अधीनमा रहेर दुई देशमा सामान ओसारपसार गर्न अन्तर्देशीय जलमार्गको विकास गर्ने उक्त सहमति पत्रमा उल्लेख रहेको छ ।

चालु आर्थिक वर्षको वजेट सार्वजनिक गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले कोशी, गण्डकी र कर्णाली नदीमा जलमार्ग अध्ययनका लागि वजेट विनियोजन गरिएको बताएका थिए । वजेटमा नेपालमा जगमार्ग सञ्चालन शीर्षकमा एक करोड ६१ लाख रुपियाँ विनियोजन गरिएको छ । अहिलेसम्मको अध्ययनबाट कोसी, गण्डकी र नारायणी नदीमा जल यातायात सञ्चालनको सम्भावना रहेकोमा नारायणी नदीमा पानी जहाज सञ्चालनको सम्भावना सबभन्दा बढी देखिएको बताइएको छ । जहाज सञ्चालनको लागि न्यूनतम दुई मिटर पानीको सतह आवश्यक हुने गर्दछ ।

पानी जहाज सञ्चानबारे समिति गठन
नेपालमा पानी जहाज सञ्चालनको सम्भावनाबारे अध्ययन गर्न जल तथा ऊर्जा आयोगका सहसचिव बेल्वासेको अध्यक्षतामा जल यातायात सम्भावना अध्ययन समिति गठन गरिएको छ । उक्त समितिले भारतको कालुघाट र हल्दियामा आइपुगेको पानीजहाजलाई नेपाली भूमिमा के कसरी ल्याउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्नेछ ।

तत्कालीन ओली सरकारले ल्याएको आर्थिक वर्ष २०७३/७४ को वजेटको बुँदा नंं. ८१ मा हिन्द र प्रशान्त महासागरमा पानीजहाज सञ्चालनको लागि आवश्यक कानुनी तथा संस्थागत तयारी गर्ने उल्लेख गरिएको थियो । यसअघि २०२८ सालमा तत्कालीन सरकारले पानीजहाज किन्न तथा सञ्चालनका लागि ‘रोयल नेपाल सिपिङ कर्पोरेसन’ नामक संस्था नै खडा गरी प्रक्रिया अगाडि बढाएको थियो । नेपालजस्तै भूपरिवेष्ठित मुलुक मङ्गोलियासँग अहिले २६५ वटा पानीजहाज छन् ।