काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिका–२ अमाही गाउँमा सोमबार बिहान आमासँगै दुई छोरा एउटै घरमा झुन्डिएको अवस्थामा फेला परेका छन् । झुन्डिएकामध्ये २९ वर्षीया अनिता यादव र उनका पाँच वर्षीय छोरा अमनको मृत्यु भएको छ । १० वर्षीय छोरा निशान भने बाँच्न सफल भएका छन् ।


ADVERTISEMENT


प्रहरी आफ्ना दुई छोरालाई झुन्ड्याएर अनिता आफूले पनि आत्महत्या गरेको हो वा बाबुले सबैलाई झुन्डयाएर भागेका हुन् भन्नेबारे अन्योलमा छ । बाँच्न सफल भएका छोरा निशानले भने आफूहरूलाई आमाले नै मार्न सोमबार बिहान ४ बजेतिर घाँटी थिचेर झुन्ड्याएको प्रारम्भिक बयान दिएका छन् ।


ADVERTISEMENT

# # #


सुनसरी मोरङ औद्योगिक करिडोर उद्योगमा झा थरका भारतीयसँग दोस्रो विवाह गरेकी अनिताले घरेलु हिंसाका कारण ५ र १० वर्षीय दुई छोरालाई अलग–अलग डोरीमा झुन्ड्याएर आफूले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।

मोरङका एसपी मनोज केसीले छोराको प्रारम्भिक बयानले घटना आमाबाटै भएको खुले पनि अन्य कारण रहे वा नरहेकोबारे खोजी भइरहेको जानकारी दिए । ‘बाबुले सबैलाई झुन्ड्याएर निस्किएका थिए कि अनिताले दुई छोरालाई झुन्ड्याएर आफू पनि झुन्डिएकी थिइन्, त्यसबारे अनुसन्धान हुँदै छ,’ उनले भने । – आजको नयाँ पत्रिकाबाट